Logo

माओवादीमा नेतृत्वप्रति विद्रोह बढ्दै



काठमाडौं, पुस ७ । माओवादी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नेतृत्वप्रति असहमति प्रकट हुने क्रम बढेको छ। पार्टीको मूल नेतृत्व परिवर्तन नहुने भए पनि तल्लो तहका कमिटीहरूमा सर्वसम्मत गर्ने प्रयासमा असहमति प्रकट हुन थालेको हो।

जनवर्गीय संगठनको सम्मेलन हुने, पदाधिकारी खाली रहने, प्रदेशमा पनि आकांक्षी धेरै हुने तर पदाधिकारी चयन नहुने र उनीहरूले निर्वाचनको माग गर्ने अवस्था आएपछि नेता–कार्यकर्ताले लोकतान्त्रिक विधि अपनाउनुपर्ने भन्दै केन्द्रको निर्देशनलाई अवज्ञा गर्न थालेका छन्। सर्वसम्मतिको नाममा माओवादी केन्द्रले लोकतान्त्रिक विधिलाई रोकेपछि प्रदेश कमिटीहरू आफैं निर्वाचनमा जान थालेका छन्।

माओवादी केन्द्रले प्रदेशको नेतृत्व चयन गरिरहेका बेला प्रदेश तहका नेता–कार्यकर्ताले आन्तरिक प्रतिस्पर्धालाई महत्व दिन थालेका छन्। वाग्मती प्रदेशले लोकतान्त्रिक विधिबाटै पदाधिकारी चयन गरेको छ।

प्रदेशमा आकांक्षी नेताहरूको संख्या धेरै भएकाले पदाधिकारी छनोट हुन सकेको छैन। ७ वटा भूगोल र ३ गैरभूगोल गरी १० मध्ये ४ वटा प्रदेशमा पदाधिकारी चयन भएका छैनन्। लुम्बिनी, सुदूरपश्चिम, प्रदेश १ र प्रदेश २ मा नेतृत्व चयन हुन बाँकी छ।

माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालका अनुसार प्रदेश १ मा ७ गते बैठक राखिएको र त्यहींबाट नेतृत्व चयन हुनेछ। प्रवासको पनि नेतृत्व टुंगिएको उनले जानकारी दिए। माओवादीमा प्रदेशबाहेक वडा र गाउँपालिकामा जबर्जस्ती सर्वसम्मत नेतृत्व चयन गरिएको थियो।

माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सकेसम्म सर्वसम्मत नेतृत्व चयनमा जोड दिएका थिए। सोही अनुसार जनवर्गीय संगठन अनेरास्ववियुका अध्यक्षमात्रै चयन भएका छन्। प्रेस सेन्टर नेपालको पदाधिकारी चयन हुन बाँकी छ। सेन्टरमा पनि अध्यक्षमात्रै चयन भएका छन्। प्रदेश संगठनमा सदस्यहरू तोकिएका छन् तर पदाधिकारी चयन हुन सकेका छैनन्।

जसले गर्दा पार्टीभित्र माथिल्लो तहमा रहेका नेताहरूको मुख ताक्ने प्रवृत्ति बढेको भन्दै पार्टीभित्रै गुनासो बढेको मात्र होइन, नेतृत्वको आलोचना पनि हुन थालेको आजको नागरिक दैनिकमा खवर छ।



प्रतिक्रिया दिनुहोस्