Logo

रानीपोखरीको संरक्षण दायित्व काठमाडौं महानगरपालिकालाई



काठमाडौं, ८ पुस : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट भइरहेका विभिन्न कार्यहरु, श्रेष्ता तथा कागजात राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण भएको छ । गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यमा पुनर्निर्माण प्राधिकरण परिसरमा आयोजित ‘हस्तान्तरण तथा बहिर्गमन’ कार्यक्रममा बाँकी दायित्व तथा कागजात हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै गृहमन्त्री बालकृष्ण खाँडले पुनर्निर्माणका क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुभव र दक्षतालाई अनुशरण गर्दै आगामी दिनका विपद् जोखिम व्यवस्थापनमा क्रियाशील हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सुझाव दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा प्राप्त अनुभव र सिकाईको जगमा तयार भएको विपद् जोखिमबाट सुरक्षित नेपाल निर्माणको अवधारणा व्यवस्थित रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले जिम्मेवारीमा आएका कार्यहरु निर्देशक समितिको निर्णयअनुसार भूकम्प पुनर्निर्माण इकाईमार्फत् सम्पादन गरिने जानकारी दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायहरु मार्फत सम्पादन भैरहेका पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी कार्यहरुको सहजीकरण, समन्वय तथा अनुगमन सम्बन्धी कार्यहरु अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् हुनेछन् ।

त्यसैगरी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको चालु र पँुजीगत खर्चको आ.व. ०७८÷०७९ को एकीकृत आर्थिक विवरण तयार गर्ने कार्य तथा लेखा परीक्षण सम्बन्धि कार्यहरुको जिम्मेवारी पनि यसै प्राधिकरणलाई हस्तान्तरण भएको छ ।

यसका साथै विश्व बैँकसँगको सम्झौता बमोजिम कार्यान्वयन भैरहेका भूकम्पीय आवास पुनर्निर्माण आयोजना तथा एमडिटिएफसँग सम्बन्धित प्राविधिक सहयोग, सोधभर्ना र प्रतिवेदन सम्बन्धि कार्य पनि अब यही निकायले हेर्नेछ ।

यीसम्बन्धी दस्तावेजहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेललाई हस्तान्तरण गरे।

त्यस्तै, पुनर्निर्माण प्राधिकरणले प्रत्यक्ष हेरिरहेको धरहरा, सिंहदरबार, रानीपोखरीको शान्तिबाटिका खण्ड, हरिहर भवन तथा नारायणहिटी संग्रहालय अन्तर्गतको रणोद्विप दरबारको भौतिक निर्माणको कार्य शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ ।

यी कार्यहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारीले शहरी विकास सचिव मणिराम गेलाललाई हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण तथा बहिर्गमन कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेको पनि उपस्थिति थियो ।

बिहीबार नै भएको छुट्टै कार्यक्रममा पुनर्निर्माण सम्पन्न भएको रानीपोखरी काठमाडौँ महानगरपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको छ । रानीपोखरीमा आयोजित कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीको सम्पूर्ण संरक्षण दायित्व काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गर्नुभयो ।

बुधबार बसेको निर्देशक समितिको बैठकले प्राधिकरण अन्तर्गत भैरहेका कार्य तथा हक, दायित्व, सम्पत्ति, श्रेष्ता, कागजात तथा विवरणको हस्तान्तरण सम्बन्धमा पनि निर्णय गरेको थियो ।

केन्द्रीय आयोजना कार्यन्वयन इकाई (भवन), केन्द्रीय आयोजना कार्यन्वयन इकाई (शिक्षा) र केन्द्रीय आयोजना कार्यन्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) अन्तर्गत सम्बन्धित श्रेष्ता तथा कागजात सम्बन्धित मन्त्रालय एवं विभागमा भदौ अन्तिम साता हस्तान्तरण भइसकेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल पुस ९ गते शुक्रबारबाट सम्पन्न हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्