Logo

काँग्रेसमा धर्मनीरपेक्षका पक्षधर को को जिते ?



काठमाडौं, ९ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा धर्मनीरपेक्षका पक्षधरहरु महत्वपूर्ण पदमा विजयी भएका छन् । काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा उठिरहँदा महाधिवेशनमा धर्मनीरपेक्षका पक्षधर हावी देखिएका छन् ।

सभापति शेरबहादुर देउवा धर्मको मुद्दामा मौन छन् । उनले यसबारे अहिलेसम्म कुनैपनि सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । तर, देउवाले धार्मिक गतिविधि बढाएका छन् । उपसभापति निर्वाचित पूर्णबहादुर खड्का पनि धर्मको मुद्दामा मौन छन् ।

उपसभापति निर्वाचित धनराज गुरुङ भने धर्मनीरपेक्ष पक्षधर हुन् । उनले काँग्रेसमा हिन्दुराष्ट्रको मुद्दा उठ्दा विरोध गरेका थिए ।

महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मा पनि धर्मनीरपेक्षका पक्षधर हुन् । उनीहरु राजनीतिमा धर्मलाई स्थान दिन नहुने विचार राख्दै आएका छन् । थापा र शर्मा गणतन्त्र नआउँदै गणतन्त्रका पक्षधर थिए ।

केन्द्रीय कमिटीमा निर्वाचितमध्ये अधिकांश धर्मनीरपेक्षका पक्षधर छन् । कतिपय मौन छन् । डा. सशांक कोइरालाले धर्मनीरपेक्षको विरोध गर्दै आएका छन् । एनपी साउद र शंकर भण्डारीले हिन्दुराष्ट्रको मुद्दा उठाउँदै आएका छन् ।

काँग्रेसको मुख्य पद सभापति, उपसभापति र महामन्त्रीमा कुनैपनि पदाधिकारी धर्मनीरपेक्षको विरोधी देखिएका छैनन् । न त कोही हिन्दुराष्ट्रको पक्षमा खुलेका छन् । यसले पनि काँग्रेसभित्र धर्मनीरपेक्षलाई कायमै राख्नुपर्ने मत राख्नेहरु मजबुत भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot