काठमाडौं, पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा परिणत गर्ने टुङ्गो लगाएको हो । तर, त्यसको निर्णय भने अहिले बिहान बस्ने केन्द्रीय समितिको बैठकबाट गरिने भएको छ । सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गरिने भएको छ । शनिबार साँझसम्म माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो ।
महाधिवेशनको उद्घाटन आज हुँदै छ । चिनियाँ सर्वोच्च नेता माओत्सेतुङको जन्मदिन (डिसेम्बर २६) पुस ११ को अवसर पारेर महाधिवेशनको उद्घाटन गरिँदै छ । महाधिवेशनले नयाँ विचारसहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने घोषणा गरिएको छ । महाधिवेशनलाई विचार र नयाँ राजनीतिक कार्यदिशा निर्माणमा केन्द्रित गरिने भएको छ ।
महाधिवेशन उद्घाटन अपराह्न ३ बजे हुनेछ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुखलाई अतिथि निमन्त्रण गरिएको छ ।