काठमाडौं, पुस ११। नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन दिउँसो ३ बजे उद्घाटन हुने भएको छ। प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशन उदघाटन समारोहमा विभिन्न ११ राजनीतिक दलका नेताहरुलाई निमन्त्रणा गरिएको छ ।
उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपा लगायत पार्टीका नेताहरुलाई अतिथिको रुपमा बोलाइएको छ । यसअघि राष्ट्रिय सम्मेलनमा पाहुनाहरु नबोलाउने निर्णय माओवादीले गरेको थियो।
महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुले आफ्नो खाना र बसोबारको व्यवस्था भने आफैंले व्यहोर्नुपर्ने भएको छ । पार्टीले खाजाको मात्रै व्यवस्था गर्ने महाधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ ।
पाँच दिनसम्म चल्ने महाधिवेशनमा १८ सयको हाराहारीमा प्रतिनिधिहरू सहभागी हुने माओवादी केन्द्रको अनुमान रहेको छ ।