काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र) को जारी महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले अन्तरिम विधान प्रस्तुत गर्न थालेका छन् । आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अपरान्हबाट गुरुङले विधान मस्यौदा (अन्तरिम विधान) प्रस्तुत गरिरहेका हुन् ।
यसअघि सोमबार नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले करिब सवा दुई घण्टा लगाएर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि गुरुङले केन्द्रीय समितिले तयार पारेको विधान विधान मस्यौदा प्रस्तुत गर्न थालेका हुन् । यसअघि नै प्रतिनिधिलाई सो मस्यौदा बाँडिएको थियो । दुवै प्रतिवेदनलाई समूहमा छलफल गरेर संशोधन गर्दै पारित गर्ने माओवादीले जनाएको छ ।