Logo

सानो मिल्टीखोला हाइड्रोपावरले अलपत्र पारेको भन्दै शेयरधनी आक्रोशित, हाइड्रो संचालन गर्न माग



काठमाडौं, १२ पौष । सानो मिल्टीखोला हाइड्रोपावरका सञ्चालकहरुले हाइड्रोपावर अलपत्र पारेको भन्दै शेयरधनीहरुले विरोध जनाएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शेयरधनीहरुले विदेशमा पसिना बगाएको मजदुरहरुको लगानी डुबाउन खोजेको आरोप लगाएका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकले ३५ दिने सुचना निकालेर ऋण तिर्न भनेपनि हाइड्रोपावर ७० दिन हुँदा सम्म चुप लागेर बसेको शेयरधनी चेतबहादुर बस्नेतले बताए । सञ्चालकहरुको जाय जेथा, चल अचल सम्पत्तिबाट असुलेर भनेपनि बिदेशमा बसेर पसिना बगाएका मजदुरहरुको पसिना नडुबाउन र हाइड्रो सञ्चालन गर्नुपर्ने माग गरे । रामेछापस्थित मन्थली नगरपालिका–१३ र १४ स्थित हाइड्रोपावर डुब्न लाग्दा शेयरधनीहरु डुब्ने खतरा बढेपछि आफूहरुको धारणा सार्वजनिक गरेका हुन् ।

बस्नेतले हाइड्रोपावरले आफुजस्तै ५ सय जना शेयरधनीहरुलाई अलपत्र पार्न खोजेको बताए । ‘हामी सबैले बिदेशको चर्को घाममा पसिना बेचेर कमाएको पैसा हो, हाम्रो पैसा सुरक्षित हुनुपर्छ । हाइड्रो जसरी पनि सञ्चालन गरिनुपर्छ ।’–उनले भने । ‘यो सञ्चालकहरुको बेइमानीको कारण आज हामीले दुःख पाएका छौ । हाम्रो पैसा फसाइदै छ ।’ एकजना शेयरधनीले १ लाख देखि १३ लाख रुपैयाँसम्म लगानी गरेको उनले बताए ।

उनले शेयरधनीहरुको पैसा लिएर सञ्चालकहरुले कामै नगरेको उनको भनाई थियो । हाइड्रोपावरले आफुहरुले देखिने गरेर जम्मा ४ किलोमिटर मात्रै सडक निर्माण गरेको समेत उल्लेख गरे । उनले भने, ‘४ किलो बाटो पनि अरुको पनि लगानी छ भन्ने सुनेका छौ । त्यसमा पनि हाइड्रोको मात्र लगानी छैन् । सकेसम्म विदेशमा कमाएका मजदुरको लगानी सुरक्षित होस्, नडुबोस् ।’

शेयरधनी गोकर्ण रिमालले हाइड्रोपावरले शेयरधनीहरुलाई धोका दिएको बताए । उनले भने, ‘बैंकले ऋण असुलीको सुचना निकालेपछि हाइड्रोपावरले लगानीकर्ता खोज्दैछौ, तपाईहरुको लगानी डुब्न दिन्नौ, केही समय धैर्य गर्नुहोस् भनेपनि ७० दिन नाघ्दा सम्म केही काम नगरेको र लगानीकर्ता पनि आएका छैनन् ।’ उनले मजदुरहरुको रकम सकेसम्म नडुबोस भन्ने आफ्नो चाहाना रहेको बताए ।

उनले दक्षिण कोरियामा काम गरेको करिब ५ सय जना मजदुरहरुले हाइड्रोमा शेयर हालेको जानकारी दिए । ५ सय जना नै हाइड्रोका संस्थापक सञ्चालकहरुबाट पीडित भएको पनि सुनाए । २ पटक गरेर कोरियाबाट ११ करोड ४५ हजार मजदुरहरुको पैसा हाइड्रोले उठाएको भन्दै उनले थप बैंकबाट ३ करोड ऋण लिएर खर्च गरेको जानकारी दिए । उनले भने, ‘ब्याजसहित गरेर १७ करोड हाराहारीमा हिसाब देखिन आउँछ ।’ कार्यक्रममा शेयरधनीहरु  रिमाल, शालीग्राम सिलवाललगायतको उपस्थिति थियो ।

 



प्रतिक्रिया दिनुहोस्