Logo

अमेरिकामाथि युद्धमा होम्न खोजेको प्रचण्डको आरोप



काठमाडौं, १३ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी एमसीसी कुनै हालतमा पारित नगर्ने स्पष्ट संकेत गरेका छन् । उनले पार्टीको महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अमेरिकाले युद्ध चाहेको आरोप समेत लगाउँदै त्यस्तो संकेत गरेका हुन् ।

अमेरिकाको चर्को आलोचना र चीनको समर्थन गरिएको राजनीतिक प्रतिवेदनमा प्रचण्डले चीनलाई रोक्नका लागि विशेष सैन्य साझेदारीका साथ भारतसँग समेत सम्बन्ध सुदृढ गरेको विश्लेषण गरेका छन् ।

प्रचण्डले अमेरिका थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको उल्लेख गरेका छन् । ‘हालै अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिले अमेरिका थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको छ,’ दाहालले प्रतिवेदनमा भनेका छन्, ‘शीतयुद्धकालिन मानसिकताका साथ चीन र रुससँगको प्रतिष्पर्धालाई अमेरिकाले चर्काएर लान खोजेको छ ।’

हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथ विभिन्न देशमा सैन्य अखडा बढाउने र सुदृढ गर्ने योजना बनाएको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा लेखेका छन्, ‘आज अमेरिकाले भारतसँगको सम्बन्धलाई सुदृढ गर्नुका पछाडि पनि त्यही रणनीतिले काम गरेको छ । वास्तवमा आज अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको छ ।’

प्रचण्डले अमेरिकामाथि नयाँ युद्धलाई जन्म दिएर आफ्नो संकेतमोचनको दिशामा अगाडि बढ्न खोजेको आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्