Logo

आज ४६ औं मेलमिलाप दिवसः अझै सान्दर्भिक र औचित्यपूर्ण



काठमाडौं, पुस १६ । नेपालको राजनीतिक ‘कोर्स’ बदल्ने ऐतिहासिक दिन थियो, वि सं २०३३ पुस १६ गते । त्यस दिन नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर भारतबाट स्वदेश फर्किएका थिए।

नेपाली कांंग्रेसले हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । निर्वासनमा रहेका बेला दक्षिण एसियाको बदलिँदो राजनीतिक घटनाक्रमका कारण देशको राष्ट्रियतामाथि खतरा देखेपछि उनी स्वदेश फर्किएका थिए । बीपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै नेताहरूले अब उक्त नीतिअनुसार देश विकास र समृद्धि गर्नुपर्ने बताउन्छन्।

राष्ट्रियता र लोकतन्त्रका लागि ज्यानको बाजी लगाएका बीपीको मेलमिलाप नीति अझै सान्दर्भिक र औचित्यपूर्ण रहेको प्रभावशाली नेताहरूले बताउने गरेका छन् । कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले संविधानको रक्षा र लोकतन्त्रलाई सुदृढ बनाउनका लागि बीपीले देखाएको बाटोबाटै अघि बढ्नुपर्ने बताए । उनले भने, “२०३३ सालतिर दक्षिण एसियामा बङ्गलादेशको उदय, सिक्किमको भारतमा विलयजस्ता राजनीतिक सङ्कटबाट बीपीले नेपाली राष्ट्रियतामाथि खतरा देखेर एकता र मेलमिलापको नीति लिएर नेपाल फर्किनुभएको थियो ।”

उनका अनुसार बीपीको त्यही कदमले २०३६ सालमा जनमत सङ्ग्रह भएको थियो । उनले भने “मेरो जीवनभन्दा नेपाल राष्ट्र ठूलो हो भनेर बीपी स्वदेश फर्किनुभयो । राष्ट्रियताका सवालमा हामी राजासँग मिल्छौँ तर प्रजातन्त्रले मात्रै राष्ट्रियता सुदृढ हुनसक्छ भन्ने प्रस्ट धारणा थियो । बीपी स्वदेश फर्किएपछि जनमत सङ्ग्रह र २०४६ सालको प्रजातान्त्रिक आन्दोलन सफल भएको होे ।”

सहमहामन्त्री मन्सुरले २०४६ सालमा देशका प्रमुख राजनीतिक दलहरू एकजुट भएर प्रजातन्त्रका लागि लडेको स्मरण गर्दै यो कार्यगत एकताको आधार तयार गर्ने काम बीपीले गरेको बताए ।

वर्षौंदेखिको राजनीतिक लडाइँ अब सकिएको बताउँदै मन्सुरले अब देशको मालिक जनता भएको र अब समृद्धिको यात्रा प्रारम्भ भएको उल्लेख गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्