Logo

विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन संयुक्त विद्यार्थी संगठनको माग



काठमाडौं, १६ पुस । चिकित्सा शिक्षाका विद्यार्थीहरुको जायज मागहरुमा ऐक्यबद्धता जाहेर गर्दै संयुक्त विद्यार्थी संगठनले विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै संयुक्त विद्यार्थी संगठनले विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग गरेको हो ।

विद्यार्थीहरुको पक्षमा सयुक्त विद्यार्थी संगठनले आन्दोलन गर्ने र यस बाट उत्पन्न हुने परिणाम स्वयं कलेजले भोग्नु पर्ने पनि संगठनले चेतावनी दिएको छ। ‘चिकित्सा शिक्षाका विद्यार्थीहरुको जायज मागहरुमा ऐक्यबद्धता जाहेर गर्दै विद्यार्थीहरु लाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग गर्दछौं ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संगठनले जारी गरेको विज्ञप्तीमा राष्ट्रियता, जनजीविका र नेपाली विद्यार्थीहरुको साझा मुद्दामा क्रियाशिल संयुक्त विद्यार्थी संगठन, आज लाखौं युवा विद्यार्थीहरुको शैक्षिक सवालमा आन्दोलित भएको पनि उल्लेख गरिएको छ ।

नेपालका मेडिकल कलेजहरुले बिगत लामो समय देखि चिकित्सा क्षेत्रका विद्यार्थीहरु माथि विभिन्न बहानामा लुट मच्चाई रहेको, यसैको शृङ्खलाको रुपमा चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरीत काठमाडौ विश्वविद्यालयका सम्बन्धन प्राप्त मेडिकल कलेजहरु काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणीपाल मेडिकल कलेज कास्कीले २०७८ को नयाँ भर्नामा MBBS, BDS, B nursing मा राज्यले तोकेको भन्दा बढि विद्यार्थीहरु बाट आफुखुशी विभिन्न बहानामा लाखौं रुपैयाँ नाजायज शुल्क लिएको, मणीपाल मेडिकल कलेज पोखरा, काठमाडौ मेडिकल कलेज, नोवेल मेडिकल कलेज मोरङमा विद्यार्थीहरु आन्दोलित भएको प्रती संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तीमा ने.वि.संघका अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी)को अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी बिध्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही, अखिल छैठौका अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्