Logo

हारेपनि प्रकाशमान किन उत्साही ?



काठमाडौं, १७ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा प्रकाशमान सिंह सभापतिमा पराजित भए । उनले ३७१ मत मात्र ल्याएको भनेर धेरैले कमजोर आँकलन गरे । तर, उनको त्यो मत नै निर्णायक बन्यो ।

सभापति शेरबहादुर देउवा चाक्सीबारी पुगेर सिंहलाई मनाए । सिंहसँग वन टु वन छलफल गरे । सुजाता कोइरालालाई समेत राखेर महत्वपूर्ण राजनीतिक छलफल गरे । त्यसपछि दंग परेका सिंह बैठक कक्षबाट निस्किएर देउवालाई दोस्रो चरणमा साथ दिने घोषणा गरे ।

देउवाले सिंहलाई महाधिवेशन भन्दा दुई महिना अघि नै वन टु वट छलफल गरेका थिए । त्यतिबेला नै सिंहको साथ खोजेका थिए । राजनीतिक लेनदेनको कुरा गरेका थिए । तर, सिंह अडानबाट पछि हटेनन् । सिंहसँग महाधिवेशन अगावै देउवा पक्षका हस्ती नेताहरुको चाक्सीबारी ओहोरदोहोर बाक्लो भएको थियो ।

सभापतिको पहिलो चरणको मतगणना सकिनै लाग्दा देउवा पक्षका हस्ती नेताहरुले सिंहलाई पटक पटक भेटेका थिए । उनलाई भविष्यमा नेता मान्न सकिने समेत भनेका थिए । विगतमा देउवासँगै रहेका कारण सिंहका लागि उक्त समूहका नेता सहज पनि थिए । यसले पनि सिंह उत्साही भएका थिए ।

देउवालाई सघाउने सिंहको घोषणाले सामाजिक सञ्जालमा एक हप्ता चर्को आलोचना भयो । उनलाई उपसभापति जितेका धनराज गुरुङले ‘भेडा’ को संज्ञा दिएका थिए । आलोचना सहेर सिंह अगाडि बढे । देउवा उनकै कारण जिते । देउवाले पनि सिहलाई हरेक महत्वपूर्ण निर्णय गर्दा सल्लाह गर्न थालेको बुझिएको छ ।

बागमती प्रदेशको मन्त्री नियुक्त गर्दा पनि देउवाले सिंहको सिफारिशमा दिपेन्द्र श्रेष्ठलाई पर्यटनमन्त्री बनाए । देउवाले सिंहसँग पछिल्लो समय सम्पर्क बढाउन थालेको बुझिएको छ । यसबाट उनी निकै उत्साही बन्न थालेका छन् ।

पार्टीभित्रको वरियतामा पनि सिंहले महत्वपूर्ण स्थान पाउने बुझिएको छ । देउवा समूहका कतिपय नेताहरु सिंहको चाक्सीबारीस्थित घरमा पछिल्लो समय बढी आवतजावत गर्न थालेका छन् । यसले उनलाई बढी उत्साही बनाएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot