Logo

नेपाल प्रहरीः ३ सय ६७ विरुद्ध उजुरी, १९ सय ८० जनालाई पुरस्कार



काठमाडौं, पुस १९ । आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस पीडित पक्षलाई हुन्छ । तर, त्यही न्यायिक निकायका रूपमा रहेको प्रहरीका कतिपय कामकाज चित्त नबुझेर वा भनौं प्रहरीका क्रियाकलापविरुद्ध पनि उजुरी पर्ने गरेको पाइएको छ ।

प्रहरी प्रधान कार्यालयले तयार गरेको गत साउनदेखि मंसिरसम्मको पाँच महिनाको तथ्यांकले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीविरुद्ध ३ सय ६७ उजुरी दर्ता भएको देखाएको हो । साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा प्रहरी कर्मचारीको कार्यसम्पादनमा प्रश्न उठाउँदै ३ सय ६७ उजुरी विभिन्न निकायमा दर्ता भएको हो ।

यसरी आएका उजुरी अनलाइन प्रणाली, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, प्रहरी महानिरीक्षकको सचिवालय तथा हेलो सरकारमार्फत परेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए ।

उनका अनुसार अनलाइनमार्फत ४०, अख्तियारमार्फत ३९, अन्य तरिकामार्फत २, गृह मन्त्रालयमार्फत ३६, पत्रपत्रिकामार्फत ३, प्रहरी महानिरीक्षकको सचिवालयमार्फत ९१ तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (हेलो सरकार)मार्फत १ सय ५६ उजुरी प्रहरी कर्मचारीविरुद्ध परेको हो ।

उजुरीमध्ये १ सय ३८ वटा विषय अझै छानबिनका क्रममा रहेको र २ सय २९ वटा उजुरीको छानबिन सकिएको छ । गत वर्षको यही अवधिमा भने प्रहरी कर्मचारीविरुद्ध भने ३ सय ८१ उजुरी दर्ता भएको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने उजुरी दर्ता ३ दशमलव ६७ प्रतिशतले घटेको तथ्यांक देखाउँछ ।

यसरी आएका उजुरीको छानबिन गर्दा यो अवधिमा १ हजार १ सय ४५ जना प्रहरी कर्मचारीले सजाय पाएको प्रहरी प्रधान कार्यालय बताउँछ । सजाय पाउनेमा प्रहरी उपरीक्षक (एसपी) तीन जना, प्रहरी नायब उपरीक्षक (डीएसपी) चार, प्रहरी निरीक्षक (इन्स्पेक्टर) १२, प्रहरी नायब निरीक्षक (सई) ४६ र प्रहरी सहायक निरीक्षक (असई) ४६ जना छन् । यसैगरी, ३ सय ५ जना हबल्दार, ६ सय ७५ प्रहरी जवान र १४ प्रहरी कार्यालय सहयोगीले सजाय पाएका छन् ।

प्रहरीले यही अवधिमा १ हजार ९ सय ८० जना प्रहरी कर्मचारीलाई पुरस्कार पनि दिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot