Logo

माओवादीमा प्रचण्डको ‘एकछत्र राज’



काठमाडौं, २० पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा चुनावी प्रक्रिया रोकेर केन्द्रीय कमिटी घोषणा गरे । केन्द्रीय कमिटी घोषणा गर्दा आफूले रुचाएकाहरुलाई स्थान दिए । जसमा उनका विश्वासपात्रहरु बढी थिए ।

माओवादीमा पहिलोपटक केन्द्रीय कमिटीको चुनाव हुने सम्भावना बढेको थियो । यसमा धेरैको चासो बनेको थियो । तर, अन्तिम समयमा प्रचण्डले चुनाव रोकेर केन्द्रीय सदस्यको घोषणा गरेका थिए ।

प्रचण्डले आफ्नो गोजीबाट केन्द्रीय सदस्यको नाम निकाले । यसबाट उनले कम्युनिस्ट पार्टीमा अध्यक्षले जे भन्छ त्यही हुन्छ भन्ने सन्देश दिए । अर्को सन्देश उनले माओवादीमा कुनै गुट छैन भन्ने सन्देश दिए । गुट निर्माणको माहोल बन्न दिएनन् ।

माओवादीभित्र प्रचण्डको एकछत्र राज फेरि स्थापित भएको छ । अध्यक्षमा पनि उनी सर्वसम्मत चयन हुनु स्वाभाविक थियो । केन्द्रीय कमिटी नै उनको गोजीबाट निस्किएको थियो । प्रचण्ड नै माओवादी र माओवादी नै प्रचण्ड हो भन्ने सन्देश गयो ।

माओवादीमा बाँकी १४ पदाधिकारीमा पनि प्रचण्डले जे चाहन्छन् त्यही हुने निश्चित जस्तै छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा प्रचण्डले नाम तयार गरिसकेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, वर्षमान पुन, जर्नादन शर्मा, पम्फा भुसाल, मातृका यादव, देव गुरुङ, लिलामणि पोखरेलको सम्भावना बढी छ । महासचिवमा शक्तिबहादुर बस्नेतको सम्भावना बढी देखिएको छ । प्रचण्डले वर्षमान या कृष्णबहादुर महरालाई लाने सम्भावना पनि छ । शक्ति बस्नेत उनको विश्वासपात्र भएकाले बढी सम्भावना देखिएको हो ।



प्रतिक्रिया दिनुहोस्