Logo

भारतीय रेल्वे कम्पनी कर्पाेरेसन (कोङकण) को टोलीले गरे भौतिक पूर्वाधारणको निरीक्षण



जनकपुर, २० पुस: भारतीय रेल्वे कम्पनी कर्पाेरेसन (कोङकण) को टोलीले आज कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्यको निरीक्षण गरेको छ । कोङकणका निर्देशक मनोज सिंह नेतृत्वको टोलीले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि तयारी पारिएको भौतिक पूर्वाधार र नेपालतर्फ भइरहेको तयारीबारे निरीक्षण गरेको हो ।

सो टोलीलाई जनकपुरधामस्थित रेल्वे स्टेशनमा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले स्वागत गरे । सो क्रममा महाप्रबन्धक झाले टोलीलाई नेपालमा रेल सेवा सञ्चालनका लागि भइरहेको कानुनीलगायत अन्य तयारीबारे जानकारी गराए ।

निरीक्षण पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै निर्देशक सिंहले भारत सरकार नेपालमा छिट्टै रेल सेवा सञ्चालन गर्न चाहेको बताए । उनले नेपालमा रेल सञ्चालनका लागि तयारी भइरहेकाले छिट्टै सेवा सञ्चालन हुने विश्वास व्यक्त गरे ।

निर्देशक सिंहले भने,‘‘अहिले सञ्चालन हुन लागेको रेल सेवा सानो मात्र हो, हामी चाहन्छौं नेपालमा पनि ठूलो र लामो दूरीको रेल सेवा सञ्चालन होस्, त्यसमा हाम्रो तर्फबाट सहयोग हुन्छ”, उनको भनाइ थियो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले सञ्चालनका लागि २०७७ असोज २ गते भारतीय रेल्बे कम्पनी कर्पाेरेसनबाट रु ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर ल्याए पनि अझै सञ्चालमा आउन सकेको छैन् । ती दुई वटै सेट रेल अहिले धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा राखिएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot