Logo

‘सिरियल किलर’ चार्ल्स शोभराज कहिले जेलबाट छुट्लान् ?



काठमाडौं, २१ पौष । सिरियल किलर चार्ल्स शोभराजको मुद्दाको आज पनि सुनुवाई हुन सकेन । आज शोभराजको मुद्दा हेर्न नमिल्नेमा राखियो । सुनुवाईका लागि न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।

७ पौषमा उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए । त्यसउपर सुनुवाई हुँदै ८ पौषमा सुनुवाई हुँदा शोभराजलाई थुनामुक्त गर्नु नपर्नाको कारण तीनदिनभित्र बुझाउन सर्वोच्चले आदेश दिएको थियो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले उक्त जवाफ सरकारसँग मागेको थियो । जवाफ आएपछि आजका लागि पेशी तोकिएकोमा हेर्न नमिल्नेमा राखियो ।

शोभराज अदालती प्रक्रियाका कारण कहिले छुट्ने हुन् अन्यौल बढेको छ । उनी नेपालमा जेल बसेको पनि १७ वर्ष पूरा भइसकेको छ ।

शोभराजले ४६ वर्ष अघि कुख्यात अपराधी चालर्स शोभराजले मनहरी खोलानजिक अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जीचको निर्ममतापूर्वक हत्या गरेका थिए । धारिलो हतियार प्रहार गरी हत्यापश्चात् लास नचिनियोस् भनेर जलाएका थिए । नेपालमै उनले अर्का विदेशी नागरिकको पनि हत्या गरी फरार भए ।

तर, २०६१ सालमा नेपालमा मिनिरल वाटरको व्यापार गर्ने भनी आउँदा उनी पक्राउ परे । उनलाई पक्राउ गर्ने टोलीका कमाण्डर थिए तत्कालीन काठमाडौं प्रहरीका अधिकृत गणेश केसी । इमाडोलका स्थायी बासिन्दा केसीले बाल्य अवस्थामा शोभराजले हत्या गरेको कोन्नी जो ब्रोन्जीचको शव समेत देखेका थिए । उनले बाल्यकालमा देखेको जलेको अवस्थाको शवका हत्यारा शोभराजलाई पक्राउ गरी अनुसन्धान गरे ।

शोभराज केन्द्रीय कारागारमा राखिएका छन् । उनी जेलबाट भाग्ने चर्चा चल्यो । विश्वका विभिन्न जेल तोडेर भागेको इतिहास भएकाले शोभराज भाग्ने हल्ला चलेको थियो । तर, नेपालमा पक्राऊ पर्दा शोभराज वृद्ध अवस्था नजिक पुगिसकेका थिए । उनले आफूभन्दा ४४ वर्ष कान्छी निहिता विश्वाससँग विवाह पनि गरे । तर, त्यो लामो समय टिक्न सकेन ।

७७ वर्ष भइसकेकाले उनी जेलबाट छुट्न अदालतमा मुद्दा दर्ता गरेका छन् । आफू वृद्धावस्थाको भइसकेको र अदालतले तोकेको कैद सजाय भोगिसकेको उनको जिकिर छ ।

को हुन् शोभराज
शोभराज कुख्यात अन्तर्राष्ट्रिय अपराधी हुन् । उनीमाथि विश्वका विभिन्न देशमा हत्या र लागूऔषध तस्करीको अभियोग छ ।

हाल भियतनाममा रहेको र तत्कालीन फ्रान्सको साइगोनमा ६ अप्रिल सन् १९४४ मा शोभराज जन्मिएका हुन् । उनका पिता भारतीय मूलका र आमा भियतनामी हुन् । तर, पिताले उनलाई स्वीकारेनन् । त्यसपछि उनकी आमाले फ्रान्सका सैनिक अधिकृतसँग विवाह गरिन् । शोभराज उनीहरुसँगै हुर्किए । पछि आमा र उनका नयाँ पतिबाट बेवास्तामा परे । उनी विस्तारै आपराध कार्यमा लागे ।

शोभराज किशोरावस्थाबाट नै चोरी र लुटपाटमा संलग्न भएका थिए । सन् १९६३ मा पेरिसमा चोरीको अभियोगमा पक्राऊ परे । जेलमा उनको ठूला अपराधीसँग भेट भयो । त्यसपछि उनी पेरिसको संभ्रान्त देखि अन्डरवल्डसम्मको संगतमा परे ।

उनी विवाह तय गरेर एउटा अपराध कार्यमा पक्राउ परे । कार चोरीको अभियोगमा पक्राउ परेका उनी आठ महिना जेल बसेर छुटे । त्यसपछि विवाह गरे । पत्नीको पेटमा बच्चा थियो । उनी भने अपराधको दुनियाँमा व्यस्त रहे । तर, विभिन्न अपराधमा खोजीको सूचीमा परेपछि नक्कली कागजपत्रसहित एशियातर्फ भागे । उनी पर्यटकहरुलाई लुट्थे । कतिपय घटनामा हत्या पनि गर्थे ।

शोभराज जुवाडे थिए । जुवा खेल्नका लागि पनि उनी ठूला अपराध गर्न थाले । उनी भारत, अफगानिस्तान, ग्रीसलगायतका देशमा चोरी र डकैतीको अभियोगमा पक्राउ परे । तर, हिसासत र जेलबाटै फरार भए । उनी अपराध गर्दा हत्या गरेका वा लुटिएकाको पासपोर्ट दुरुपयोग गर्थे ।

शोभराज ७७ वर्ष कटिसकेका छन् । उनले आफू जेष्ठ नागरिक भएकाले रिहाईको लागि सर्वोच्च अदालतमा रिहाईका लागि निवेदन दिएका हुन् ।

शोभराजले २० भन्दा बढी पर्यटकको हत्या गरेको उल्लेख छ । थाइल्यान्डमा मात्र १४ जनाको हत्या गरेका छन् । उनी भारतमा सन् १९७६ देखि १९९७ सम्म २१ वर्ष जेल परेका थिए । भारतको चर्चित तिहाड जेलमा बस्दा उनले जेल प्रशासनलाई घूस दिएर विलासी जीवन बिताएको चर्चा पनि चल्यो ।

उनी सन् २००३ मा नेपाल आउँदा पक्राऊ परेका थिए । नेपालमा १८ वर्ष जेलजीवन बिताइसकेका शोभराज वृद्धावस्थामा छन् ।

शोभराजका बारेमा उपन्यास लेखिएका छन् । चलचित्र, नाटक देखि वृत्तचित्रहरु बनेका छन् । भारतमा मे और चाल्स चलचित्र बनेको छ ।

नेपालमा ८ पौष २०३२ सालमा मनहरा खोलानजिकै कोन्नी जो ब्रोन्जीचको हत्या गरेको पुष्टि भएको थियो । धारिलो हतियार प्रहार गरी हत्यापछि लासलाई नचिनिने गरी जलाई फालेका थिए ।

काठमाडौंमा बस्दा शोभराज हेनरिकस विन्टाँजा नामले बसेका थिए । घटनामा अजय चौधरी नामका भारतीय नागरिक समेत संलग्न देखिएकाले उनको सुपुर्दगीको प्रयास भएको थियो ।

लरेन्ट आरमण्डलाई पनि शोभराजले हत्या गरेको पुष्टि भएको थियो । उनीहरुले विभिन्न देशमा हत्या गरेको बयानबारे भारतीय मिडियाले समेत लेखेको थियो ।

२८ साउन २०६१ मा काठमाडौं जिल्ला अदालतले शोभराजलाई हत्याको ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । २० साउन २०६२ मा पुनरावेदन अदालत पाटनले जिल्ला अदालतको फैसला सदर गरेको थियो । १४ साउन २०६७ मा सर्वोच्च अदालतले शोभराजको मुद्दामा विगतका फैसलाहरुलाई नै सदर गर्ने फैसला सुनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्