Logo

गुट परिवर्तन गर्दै शक्तिशाली बनेका गगन थापा आफ्नै गुट निर्माणमा



काठमाडौं, २१ पौष । नेपाली काँग्रेसको महामन्त्रीमा बाजी मारेका गगन थापा चतुर नेताको परिचय बनाउन सफल भएका छन् । उनले ५० वर्ष उमेर नपुग्दै नेपाली काँग्रेसको महामन्त्रीमा बाजी मारे । राजनीतिमा छिटो उचाई लिन सकेका थापासँग सही समयमा सही नेता छानेर बढ्ने खूबी पनि देखिएको छ ।

२०४६ सालमा राजनीतिमा लागेका उनको पाइला भने त्रीचन्द्र क्याम्पसको स्ववियूको राजनीतिबाट गति लिन थाल्यो । २०५१ मा त्यहाँको स्ववियू सदस्य, २०५३ मा सचिव हुँदै २०५५ मा सभापति बने । २०५९ मा नेविसंघको महामन्त्री बन्न सफल भए । त्यतिबेला उनलाई गिरिजाप्रसाद कोइरालाको साथ थियो । कोइराला परिवारले थापालाई निकै विश्वास गरेका थिए ।

२०६२/६३ को जनआन्दोलन अगाडि उनी लोकप्रीयताको शिखरमा पुगे । तर, नेविसंघको सभापति बन्ने प्रयास सफल भएन । नेविसंघको सभापतिको प्रतिष्पर्धामा उनी पछि हटे । त्यसपछि काँग्रेसको राजनीतिमा होमिए । २०६४ मा संविधानसभामा समानुपातिकतर्फको सदस्य बने । २०७० मा काठमाडौं क्षेत्र नं ४ बाट निर्वाचित भए । त्यतिञ्जेल उनी काँग्रेसको कोइराला समूहमै रहे ।

२०६७ मा भएको नेपाली काँग्रेसको १२औं महाधिवेशनमा गगन थापा लोकप्रीय मतका साथ केन्द्रीय सदस्य जित्न सफल भए । त्यतिबेला उनी सुशील कोइरालाको प्यानलमा थिए ।

सुशील कोइरालाको निधनले काँग्रेसको त्यतिबेलाको संस्थापन पक्ष विभाजित भयो । गगन थापा कृष्णप्रसाद सिटौला समूहमा लागे । उनी सिटौला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनी पराजित भए । रामचन्द्र पौडेलको प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका डा. सशांक कोइराला जित्दा अर्जुननरसिंह केसी र गगन थापा दुवै पराजित भएका थिए ।

काँग्रेसमा सिटौला समूह तेस्रो धारका रुपमा सक्रिय भइरह्यो । जसमा गगन थापा पनि रहे । उनी सिटौला समूहमै रहेर २०७३ मा स्वास्थ्यमन्त्री बन्न सफल भए । २०७७ सम्म सिटौला समूहमा गगन थापा देखिए । उनी विस्तारै टाढिन थाले । गत वर्ष सिटौलाले आफ्नो समूहको छुट्टै भेला राख्दा गगन थापा पनि थिए । पछि उनी देखिनछाडे ।

१४औं महाधिवेशन अघि भने गगन थापा प्रकाशमान सिंहसँग नजिकिए । उनी सिंह जहाँ पुग्थे त्यही देखिन्थे । १४औं महाधिवेशन हुनुपूर्वका तीन महिना उनले सिंहको साथ छाडेनन् । त्यहाँबाट निकै शक्ति आर्जन गर्न सके । काँग्रेसभित्र इतर समुहको साझा उम्मेदवार बन्न नसकेपछि शेखर कोइराला र प्रकाशमन सिंह दुवैले उम्मेदवारी दिए । त्यतिबेला गगन थापा शेखर कोइरालाको समूहमा गए । उनले प्रकाशमान सिंहको साथ छाडे ।

गगन थापाले साथ छाडेकोमा कृष्णप्रसाद सिटौलाले काँग्रेसको महाधिवेशनको उदघाटनको दिन आक्रोश पोखेका थिए । उनले प्रदीप पौडेललाई आफूले अगाडि बढाउने घोषणा गरे । उता सिंह गगन थापाले अन्तिम समयमा साथ दिने आशामा थिए । तर, उनले शक्ति मापन गरिसकेका थिए । शेखर कोइरालाकै प्यानलमा रहेर महामन्त्री जिते ।

यसरी गगन थापाले काँग्रेसभित्र छिटो छिटो गुट परिवर्तन गर्ने नेताको परिचय बनाए । उनले त्यसबाट राजनीतिक फाइदा पनि लिनसकेका छन् । अब भने थापाले आफ्नै गुट विकास गर्ने चर्चा चलेको छ । उनीनिकट केही केन्द्रीय सदस्य पनि निर्वाचित भएका छन् । संगठनमा पकड बनाउँदै १५औं महाधिवेशनमा सभापतिको लक्ष्यसहित गगन थापा अगाडि बढेको देखिदैछ । अब उनले गुट परिवर्तन नभई आफ्नै गुट स्थापित गर्ने रणनीति बनाएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्