Logo

पुस्तकालयमा पढ्न झिसमिसेमै लाम



जनकपुरधाम, पुस २५ । खेम पाठक अचेल गोङ्गबुबाट हरेक दिन बिहान ५ बजे नै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुर पुग्छन् । ५ बजे नपुग्ने हो भने पुस्तकालयभित्र छिर्नै मुस्किल पर्ने उनको भनाई छ ।

लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धाको तयारीमा रहेका पाठकको बिहानदेखि साँझ ६ बजेसम्म पुस्तकालयभित्रै बित्छ । पुसको ठन्डीमा सिउसिउ गर्दै थानकोटका कृष्ण रिजालको पनि दैनिकी उस्तै छ । उनले पनि नेपाल राष्ट्र बैङ्कको परीक्षाको तयारी गरिरहेका छन् ।

पाठक र रिजाल मात्रै होइन, अहिले दैनिक सयौँ विद्यार्थी केन्द्रीय पुस्तकालयमा पढ्न बिहानै कीर्तिपुर पुग्ने गरेका छन् । पुस्तकालयभित्र बसेर अध्ययन गर्न विशेष र सामान्य गरी दुईथरी अध्ययन कक्ष छन् । विशेष अध्ययन कक्षमा विद्यार्थीको आकर्षण बढी छ । यसमा तीन कोठा छन् । एउटा कोठामा ४० जना बस्न पाउँछन् ।
पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठका अनुसार तीन कोठामा १२० जना मात्रै अटाउँछन् ।

समयमै नआउने हो भने बस्न कुर्सी अभाव हुने र भित्र छिर्नै नपाउने त्रासका कारण विद्यार्थी एकाबिहानै लाइन लाग्ने गरेको उनले सुनाए ।
यो कक्ष बिहान ६ देखि बेलुका ६ बजेसम्म खुल्छ । यसमा बिजुली, पानी, शौचालय तथा आरामदायी कुर्सी छन् । इन्टरनेट सुविधा पनि छ । साथै आफ्नै पुस्तक लगेर पढ्न पनि पाइन्छ ।

अर्को कक्ष भने बिहान नौ बजे मात्रै खुल्छ । यहाँ विद्यार्थीले आफैँ पुस्तक लिएर जान पाउँदैनन् । पुस्तकालय प्रमुख श्रेष्ठले भने, “सामान्य कक्षमा विद्यार्थीबाहेक जो कोही पनि आएर एकछिन पढेर जान पाउँछ तर आफ्नै सामग्री लिएर प्रवेश गर्न पाउँदैन । यही भएर पनि विशेष कक्षमा विद्यार्थीको आकर्षण बढी छ । ”

विशेष कक्षमा पढ्ने अधिकांश विद्यार्थी सरकारी जागिरको तयारी गर्ने हुन्छन् । सबैको उद्देश्य एकै हुने भएकोले पनि त्यहाँ बसेर पढ्दा थप आनन्द आउने अध्ययन कक्षमा भेटिएका दिनेश अधिकारीले बताए । उनी पनि नेपाल राष्ट्र बैङ्कको परीक्षाको तयारीमा रहेका छन् ।

त्यहाँ पढ्न आउने विद्यार्थीले खाना तथा खाजा पनि नजिकैको क्यान्टिनमा खान्छन् । खाना ९० रुपियाँमै पाइन्छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्