Logo

सभाहल शीघ्र सञ्चालनमा ल्याउन पहल गर्नुपर्छ: वरिष्ठ नेता पौडेल



तनहुँ, २७ पुस: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्माणाधीन तनहुँ सभाहल शीघ्र सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने बताएका छन् । व्यासनगरपालिका–३ बिपी वनवाटिका नजिक निर्माणाधीन सभाहलको आज अनुगमन गर्दै उनले सभाहललाई चाँडो सम्पन्न गर्न आग्रह समेत गरे । सो सभाहलको काम ९० प्रतिशत पूरा भएको छ ।

करिब ८०० क्षमताको उक्त भवनको हाल ‘फिनिसिङ’ गर्ने भइरहेको छ । भवनबाहिर एउटा ‘क्वार्टर’ निर्माण, सभाहलसम्म पुग्ने बाटो निर्माण, प्रवेशद्वार र वाल लगाउने कार्य गरी करिब १० प्रतिशत कार्य बाँकीे छ । विसं २०७७ असार १३ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरे पनि कोभिड–१९ का कारण सरकारले लगाएको निषेधाज्ञाको समयमा निर्माण रोकिन पुगेको थियो ।

सरकार र विदेशी दाताको संयुक्त कोष गरी रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा निर्माण गरिएको हो । उक्त भवनको निर्माणको जिम्मा डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौँले पाएको उक्त भवन चार ढलानको छ । भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष हुनेछन् । कोरोनाका कारण भवन निर्माण कार्य एक वर्ष ढिलाइ हुन गएको हो ।

विसं ०७८ चैत मसान्तसम्म सम्पन्न गर्ने गरी पुन : म्याद थप गरी निर्माण कार्य अघि बढाइएको सहरी विकास तथा भवन निर्माण विभाग कार्यान्वयन एकाइ कास्कीका सब–इन्जिनियर धर्मराज बास्तोलाले जानकारी दिए ।-रासस



प्रतिक्रिया दिनुहोस्