काठमाडौं, पुस २८ । नैतिकताको आधार देखाउँदै राजीनामा दिएका नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि मन्त्रालयको निर्देशनविपरीत काम गरेको आरोप लागेको छ ।
संग्रहालयमा रेस्टुराँ सञ्चालन गर्न बतास समूहअन्तर्गत बि मेनेजमेन्ट प्राइभेट लिमिटेडले ठेक्का पाएपछि विवादमा तानिएका दाहालले अघिल्लो सरकारले ठेक्का दिने क्रममा मन्त्रालयको निर्णयको प्रतिकूल हुने गरी ठेक्का दिएको खुलेको छ ।
विसं २०७६ फागुन १९ गते मन्त्रालयका सचिव एवं संग्रहालय विकास समितिका अध्यक्ष सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले तत्कालीन राजपरिवारकै पालामा निर्माण भएको करिब ६ आना क्षेत्रफलमा बनेको घर र त्यसले चर्चेको जग्गा मात्र रेष्टुराँलाई भाडामा दिने उल्लेख थियो ।
तर, कार्यकारी निर्देशक दाहालले टेन्डर डकुमेन्ट तयार गर्दा समेत समितिका अध्यक्षलाई जानकारी दिइएको थिएन । स्रोतका अनुसार पछिल्लो समय बि मेनेजमेन्टले भनेजति जग्गा दिँदा र संरचना बनाउँदा मन्त्रालयलाई समेत जानकारी नदिएको स्रोतको भनाइ छ ।
केदारबहादुर अधिकारी पछिका सचिव यादव कोइराला विकास समितिका अध्यक्ष हुँदा कार्यकारी निर्देशक दाहालले थप संरचना निर्माण गर्न दिएको खुलेको छ । मन्त्रालयको निर्णय बेगर करिब १४ रोपनी जग्गा भाडामा दिँदा किन छलफल भएन भन्ने विषयमा दाहाल मुख्य दोषी देखिएको स्रोतले बतायो ।
कार्यकारीको जिम्मा पाएपछि दाहालले कोरोनाकालमा बन्द रहेको संग्रहालयभित्र उधारोमा काम लगाएको बताइएको छ । ‘कमाएर तिर्ने भन्दै हाकिम साहेबले मनपरी खर्च गरेको हामीले जानकारी पाएका छाौ’ –संग्रहालयका एक कर्मचारीले भने । कार्यकारी निर्देशक दाहालले करिब एक दर्जन कर्मचारी करारमा भर्ना गरेका छन् ।
मन्त्रीलाई साथ लिएर काम गर्ने बानी भएका कार्यकारी निर्देशक दाहालमाथि संग्रहालयभित्र मनपरी रूपमा संरचना निर्माण गर्न दिएको आरोप लागेको छ ।
दाहालले दरबार संग्रहालय परिसरमा डिजिटल बोर्ड राख्न काठमाडौं महानगरपालिकालाई दबाब दिएका थिए।