Logo

विश्व हिन्दी दिवस अवसरमा भारतीय दूतावासद्धारा कार्यक्रमको आयोजना



काठमाडौं,२८ पुस । विश्व हिन्दी दिवसको अवसरमा भारतीय दूतावास काठमाडौले ¥र्याडिसन होटलमा एक कार्यक्रमको आयोजना गरेर मनाएको छ । कार्यक्रमको अध्यक्षता प्रेस, सूचना तथा संस्कृति महाशाखाका प्रमुख नवीन कुमारले गरेका थिए । उनले कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सन्देश सबैलाई शेयर गरेका थिए ।

विश्व हिन्दी दिवसका अवसरमा भारतका विदेश राज्यमन्त्री मीनाक्षी लेखीले दिएको सन्देश र शुभकामनालाई पनि भिडियोमार्फत प्रदर्शन गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपालका वरिष्ठ हिन्दी साहित्यकार रामदयाल राकेश तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद्का सदस्य प्रा. (डा.) उषा ठाकुर विशेष अतिथि थिए । विश्व हिन्दी दिवसको अवसरमा एक विशेष हास्य कवि सम्मेलनको आयोजना गरिएको थियो । जसमा भारतबाट आमन्त्रित तीनजना प्रख्यात कविहरू सुदीप भोला, विनीत पाण्डे र अभिषेक त्रिपाठीले कविता वाचन गरेका थिए।

कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका १२ जना विद्यार्थीले हिन्दी कविता वाचन गरेका थिए । विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो । पहिलो पटक १० जनवरी १९७५ मा नागपुरमा विश्व हिन्दी सम्मेलनको आयोजना गरेपछि भारत लगायत विभिन्न देशमा प्रत्येक वर्ष १० जनवरीमा दूतावास र उच्चायोगहरूमा विश्व हिन्दी दिवस मनाउने गरिएको छ।

प्रमुख अतिथिद्वारा हिन्दी मासिक पत्रिका ‘द पब्लिक’की सम्पादक वीणा सिन्हाको लघुकथा संकलन ‘सेकेन्ड गलियान’, ‘द पब्लिक’ पत्रिका र नेपालकी हिन्दी साहित्यिका करुणा झाको कविता संग्रह विमोचन गरिएको थियो । अतिथिहरुलाई हिन्दी पत्रिका ‘हिमालिनी’ को पछिल्लो अंक पनि वितरण गरिएको थियो । स्वामी विवेकानन्द कल्चरल सेन्टर, काठमाडौंका संगीत विद्यार्थीहरूले मधुर सामूहिक गान प्रस्तुत गरेका थिए। प्रमुख अतिथिले आफ्नो विचार राख्दै नेपाल र भारतको सदियौंदेखिको मित्रतामा हिन्दी भाषाले महत्वपूर्ण भूमिका खेलेको बताए ।



प्रतिक्रिया दिनुहोस्