Logo

५४ वर्षमा पनि व्यवसायिक फुटबल खेल्ने मुरा



एजेन्सी, २८ पौष । फुटबल युवाहरुको खेल हो । फुटबल खेल्न निकै तागत र जुक्ति चाहिन्छ । दौडनसक्ने र बललाई खेलाउने चलाउने क्षमता हुनुपर्छ । त्यस्तो क्षमता युवाहरुमै हुन्छ । त्यसैले देशबाट वा व्यवसायिक फुटबल खेल्नेहरु अधिकतम ४० वर्षसम्म सक्रिय खेलजीवनमा रहन्छन् । कतिपयले ३५ नपुग्दै सन्यास लिन्छन् ।

विश्वका सबैजसो देशको फुटबल टोलीमा १६ देखि ३० वर्षका खेलाडीको वर्चश्व रहन्छ । फुटबलको सौन्दर्य पनि युवा खेलाडी हुनु हो ।

तर, जापानमा एकजना पूर्व राष्ट्रिय खेलाडी ५५ वर्ष पुग्न लाग्दा पनि व्यवसायिक खेल खेल्दैछन् । उनी अर्को महिना ५५ पुग्दै गर्दा सुजुका प्वाइन्ट गेटर्स नामको क्लबमा आवद्ध भएका छन् । उनी हुन् काजुयोसी मुरा ।

मुरा योकोहामा फुटबल क्लबबाट २७ पौषमा मात्र सुजुकामा लोनमा लगिएका हुन् । योकोहामा दोस्रो डिभिजनमा झरेको थियो । त्यसपछि सुजुका उक्त क्लबमा गत वर्ष आवद्ध भएका थिए । उनी १५ वटा क्लबमा आवद्ध भइ खेलिसकेका छन् ।

मुराले ब्राजिल, इटाली, क्रोएसिया र अष्ट्रेलियाको क्लबमा पनि फुटबल खेलिसकेका छन् । ब्रजिलमा व्यवसायिक फुटबल खेल्दा १५ वर्षका मात्र थिए । सान्तोष जस्तो विश्व चर्चित क्लबबाट पनि खेले ।

जापानको पहिलो डिभिजनको लिग जे लिगमा सबैभन्दा बढी उमेरमा गोल गर्ने किर्तिमान पनि उनकै नाममा छन् । सन् २०१७ मा उनले गोल गर्दा ५० वर्षका थिए ।

मुराले जापानका लागि ८९ क्याप खेले । सन् १९९२ मा एशिया कपको विजेता बनेको जापानको टिममा पनि थिए । सन् १९९३ मा जापानको सबैभन्दा महङ्गा खेलाडी बन्न सके ।

सन् १९९० देखि २००० सम्म जापानको राष्ट्रिय टोलीमा रहे । १९९४ को विश्वकप छनोटमा १३ खेल खेलेर १३ गोल गरेका थिए । तर, जापान विश्वकप छनोटमा चुक्यो ।

मुरा ५४ वर्ष पुग्दा पनि फूर्तिला छन् । उनको जोसमा कुनै कमी देखिदैन । उनलाई किङ काजुको नामले समेत चिनिन्छ ।

मुराले जापान फुटसल टिममा आवद्ध भएर पनि खेले । त्यतिबेला उनी ४५ वर्षका थिए ।

मुराले मोडल रिसाको सितारासँग विवाह गरेका छन् । उनीहरुका दुई सन्तान छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot