Logo

भलिबलको कुशल कमान्डर गुमायौँ : डा. रणबहादुर रावल



भजनी, २९ पुस: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले भलिबलका राष्ट्रिय प्रशिक्षक स्व ज्ञानेन्द्रबहादुर विष्टको निधनमा शोक प्रकट गरेका छन् ।

स्व विष्टको १३औँ दिनको पुण्यतिथिमा टीकापुर युवा क्लबद्वारा आयोजित श्रद्धाञ्जलिसभामा डा रावलले राष्ट्रले भलिबल खेलको एक कुशल कमान्डर गुमाएको बताए । उनले राष्ट्रको पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै त्यसमा स्व विष्टको योगदानलाई सबैले स्मरण गरिरहने बताए । सुदुरपश्चिम खेलकुदका लागि उर्वरभूमि भएको सुनाउँदै उनले जुनसुकै खेलमा पनि सुदूरपश्चिमको प्रतिनिधित्व रहेको उल्लेख गरे ।

टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले स्व विष्ट टीकापुरमा भलिबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्न तत्पर रहेको अवस्थामा उनको निधनपछि सो कार्य आफुहरुको काँधमा आएको बताए । टीकापुर नगरपालिका–१ मा स्थायी बसोबास गर्दै आएका विष्टको कोरोना सङ्क्रमणका कारण यही पुस १७ गते उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो । सशस्त्र प्रहरीको एपिएफ क्लबको महिला टोलीको प्रशिक्षकसमेत रहेका विष्ट पछिल्लो समय टीकापुर भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिँदै आएका थिए ।-रासस



प्रतिक्रिया दिनुहोस्