![](https://reportersnepal.com/wp-content/uploads/2021/04/1619319682_veri-covid-ward-1200x560-1-768x358.jpg)
काठमाडौं, पुस ३० । एक सातादेखि तीव्र गतिमा वृद्धि हुँदै गएको कोरोना संक्रमणसँगै उपत्यकाका मुख्य कोभिड अस्पतालमा बिरामी भर्नादर वृद्धि हुँदै गएको छ।
एक साताअघिसम्म १३ जना कोरोना संक्रमित रहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार ३८ जना पुगेका छन्। तीमध्येमा नौजना गत २४ घण्टामा भर्ना भएका हुन्। २७ जना जनरल वार्ड र ११ जना आइसियुमा रहेका छन् ।
संक्रमित बढ्न थालेपछि अस्पतालले ननकोभिड वार्डलाई कोभिडमा विस्तार गर्न सुरु गरेको छ । १८ वटा आइसियु बेड र जनरल वार्डका २० बेड कोभिड बिरामीका लागि छुट्याएपनि अपुग भएपछि ननकोभिड वार्डलाई पनि कोभिड बनाईएको छ ।
यस्तै युनिफाइड कोभिड अस्पताल वीरमा बिहीबारसम्म भर्ना भएका संक्रमितको संख्या ४६ पुगेको छ। त्यहाँ दस दिनअघिसम्म आठ जनामात्र कोभिडका बिरामी थिए ।
त्यहाँ आठ जनाको आइसियु, चार जनाको भेन्टिलेटर र पाँच जना हाइडिपेन्डेन्सी युनिटमा उपचार भइरहेको छ। कोरोना संक्रमण भएर भर्ना भएकामध्ये धेरैजसो क्यान्सर, मिर्गौला, दम तथा मधुमेहका बिरामी छन्।
भर्ना भएका बिरामी ३० वर्षमाथिका छन्। तीमध्ये केहीले खोप नलिएका र केहीले खोप लिएका छन् । वीरमा भर्ना भएका मध्ये १३ जना एउटा पनि खोप नलिएका, २५ जना पूरा मात्रा खोप लिएर ६ महिना पुगिसकेका बिरामी छन्।