Logo

भेषनारायण दाहाल को हुन् ?



काठमाडौं, २ माघ । भेषनारायण दाहाल नारायणहिटी जग्गा भाडा प्रकरणका कारण चर्चामा छन् । पुरातत्वविद तथा पुरातत्व विभागका पूर्व महानिर्देशक भएर पुरातात्विक क्षेत्रमा हानी नोक्शानी पुर्याउन भूमिका खेलेको विषयले उनी चर्चामा आएका हुन् ।

दाहाल प्रदेश १ स्थायी घर भएका हुन् । उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट स्नातक, त्रिभुवन विश्वविद्यालयबाट नेपालको इतिहास र पुरातत्व विभागबाट स्नातकोत्तर गरे । नयाँ दिल्लीबाट पुरातत्वसम्बन्धी पोष्टग्राजुएट गरेका थिए ।

जनमैत्री कलेजमा अध्यापन समेत गराएका भेषनारायण राजनीतिक दलका नेताहरुलाई रिझाउन सिपालु थिए । विवादास्पद फाइलहरु बढाउन जान्दथे ।

नारायण्हिटी संग्रहालयको जग्गा कब्जा गराउन रोयन बगैंचा रेस्टुरेन्टको नाममा जग्गा बतासलाई दिलाउन उनै दाहालले मुख्य भूमिका खेलेका थिए । यसको फाइल बोकेर हिंड्ने उनी नै थिए । पुरातत्व विभागको महानिर्देशक हुँदा उनले विवादास्पद गतिविधि गरे । त्यतिबेलाका सचिव कृष्ण देवकोटाले दाहालले खेलेको भूमिकाको सनसनीपूर्ण खुलासा गरिसकेका छन् ।

दाहालको शक्तिकेन्द्रसँग पहुँच थियो । ठूलो व्यापारिक घराँनासँग सम्बन्ध थियो । उनी सचिव सरुवा गर्न समेत सक्दथे । तत्कालीन सचिव कृष्ण देवकोटाले नारायणहिटीको जग्गासम्बन्धी फाइल रोकेपछि दाहालले नै सचिव सरुवाको चलखेल गरेका थिए ।

छायाँ सेन्टर बनाउन ऐतिहासिक पोखरी हडप्ने क्रममा पुरातत्व विभागका महानिर्देशकमा दाहाललाई योजनावद्ध तरिकाले लगिएको थियो । दाहाललाई विभागको महानिर्देशक बनाउन तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले समेत भूमिका खेलेको विश्वस्त स्रोतले जनाएको छ । उनले पुरातत्व विभागको महानिर्देशक बनेर छाँया सेन्टर बनिरहेकोमा आँखा चिम्लिदिए ।

पुरातत्व विभागको महानिर्देशकबाट सेवानिवृत्त भएपछि उनलाई नारायणहिटी दरबार संग्राहालय तथा गणतनत्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक बनाइयो । उनलाई उक्त पदमा ल्याउने योजना नै थियो । उक्त पद नै उनका लागि खडा गरिएको थियो ।

पुरातत्वविद भएर पुरातात्विक महत्वका क्षेत्र नै माँस्न र जग्गा हडप्न उनले खलनायक भूमिका निभाए । उनले कमिसनको खेलमा यस्ता धेरै गतिविधि सेटिङमै गरे । यस सम्बन्धमा उनीसँग सम्पर्क गरी बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

अख्तियारको आँखा
नारायणहिटी जग्गा प्रकरणमा मुछिएका नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका निर्वतमान कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि अख्तियारको आँखा परेको छ । उनीहरुमाथि कारबाही चलाउन अख्तियारमा पत्र समेत पुगेको छ ।
भेषनारायणले कारबाहीबाट बच्न राजीनामा दिए । तर, उनले यसपटक उन्मुक्ति नपाउने भएका छन् । उनले विगतमा गरेका धेरै कर्तुतहरुको भेद खुलिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २८ पौषमा प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग दुवैलाई पत्र लेखी कारबाहीको आग्रह गरेको छ ।

भेषनारायण दाहालमाथि सार्वजनिक सम्पत्ति संरक्षण संवद्र्धन गर्न नसकेको भन्दै कारबाही गर्न पत्र प्रहरीलाई लेखिएको छ । पर्यटनमन्त्री प्रेमबहादुर आलेले कारबाहीको पत्र लेख्न निर्देशन दिएपछि मन्त्रालयले उक्त कदम चालेको हो ।

भेषनारायण दाहालले भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारमा पु¥याइएको पत्रमा भनिएको छ । मन्त्रालयले नै पत्र लेखेपछि अख्तियारले दाहाललाई कारबाही गर्ने निश्चितप्रायः भएको छ । २७ पौषमा दाहालले राजीनामा दिएका थिए । पुरातत्वविदको परिचय दिने उनले पुरातात्विक महत्वका स्थानहरु अतिक्रमण गर्ने र माँस्नेमा भूमिका खेलेको धेरै तथ्यहरु खुलिसकेको छ । नारायणहिटी जग्गा प्रकरणमा कारबाही हुने सूचना पाएपछि दाहालले राजीनामा दिएका हुन् । यसअघि नारायणहिटीको जग्गा भाडामा दिने प्रकरणमा उनको भूमिकामाथि छानविन कमिटीले प्रश्न गर्दै जिम्मेवारी पूरा नगरेको निष्कर्ष निकालेको थियो ।

पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई छानविन समितिले बुझाएको प्रतिवेदनमा सम्झौता विपरित वि. म्यानेजमेन्ट प्रालिले नयाँ संरचना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशक दाहालबाट कुनै पनि कानूनी कारबाही गरेको नपाइएको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा भनिएको छ,‘निर्माण कार्यलाई रोक्न र निर्माण नै हुन नदिने तर्फ पनि कुनै पहल भएको देखिएन ।’ दाहालले वि.म्यानेजमेण्टसँग समितिको निर्णय एवं प्रदत्त अधिकारभन्दा बढी विषय समावेश गरी सम्झौता गरेको देखिएको उल्लेख छ । प्रतिवेदनमा क्यान्टिन भाडामा लगाउन निर्धारित दररेट कायम गर्दा तत्कालीन चलन चल्तीको बजार मूल्यलाई समेत आधार मानेको नदेखिदा कायम भएको दररेटलाई स्वाभाविक मान्न नसकिएको उल्लेख छ ।
बोलपत्रदाताहरु आपसमा मिलेमतो गरी न्यूनतम मूल्यांकन रकम भन्दा केही पैसा मात्र बढी कबोल गरी ठेक्का सम्झौता गरेको देखिदा सम्झौता कार्यमा एक आपसमा मिलेमतो भएको हुनसक्ने प्रतिवेदनमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्