Logo

२० हजार प्रहरीको बढुवाका लागि बाटो खुल्यो



काठमाडौं, माघ ५ । प्रहरी नियमावली संशोधन भई राजपत्रमा प्रकाशित भएपछि २० हजारभन्दा बढी कनिष्ट प्रहरी अधिकृतको एकैपल्ट बढुवाको ढोका खुलेको छ ।

सरकारले प्रहरी नियमावली–२०७१ संशोधन गरेर सोमबार राजपत्रमा प्रकाशित गरेपछि लामो समयसम्म बढुवा नभएर जागिर छोड्ने प्रवृत्तिमा कमी आउने प्रहरी प्रधान कार्यालयले दाबी गरेको छ । लामो समयदेखि एउटै पदमा कार्यरत रहँदा जुनियर प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीले संगठनबाट राजीनामा दिएर अन्यत्र राम्रो अवसरको खोजीमा जुट्ने गरेका थिए ।

संशोधित नियमावली मंगलबारदेखि कार्यान्वयन आएपछि प्रहरी प्रधान कार्यालयले सोहीअनुरूपको कामको शुरुआत गरेको छ । मंगलबार प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षकमा दुई जनाको बढुवा गरेको प्रहरी प्रवक्ता विष्णु केसीले जानकारी दिए।

बढुवा भएका दुवै अधिकृतले मंगलबारदेखि नै अनिवार्य अवकाशसमेत पाएका छन् । नेत्रबहादुर जर्घा र हेमबहादुर अधिकारी प्रहरी नायव निरीक्षकमा बढुवा भएका छन्। यदि संशोधित प्रहरी नियमावली कार्यान्वयनमा नआएको भए उनीहरुले प्रहरी सहायक निरीक्षकबाट अनिर्वाय अवकाश पाउने प्रहरी प्रवक्ता केसीको भनाई छ ।

नेपाल प्रहरीले प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षकसम्म लामो समयसम्म बढुवा नहुँदा कार्यक्षेत्रमा खटिने कर्मचारीको मनोबल गिर्दै गएको भन्दै तीन तह थप्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । सरकारले प्रहरी नियमावली संशोधन गरेपछि ४६ हजार प्रहरी जवानमध्ये मापदण्ड पुगेका १५ हजार ५ सय २७ प्रहरी जवान अब प्रहरी सहायक हवल्दारमा बढुवा हुने भएका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्