Logo

मन्त्री हुँदा किन विवादास्पद अभिव्यक्ति दिन्छन् मधेशवादी नेताहरु ?



काठमाडौं, ७ माघ । नेताहरु बेला बेलामा विवादास्पद अभिव्यक्तिले फस्ने गरेका छन् । यसरी अभिव्यक्तिले विवादमा परी पद नै गुमाउन वाध्य भएकाहरु पनि छन् । सरकारका मन्त्री भइसकेकाहरु अभिव्यक्तिका कारण विवादमा परी राजीनामा दिन वाध्य भएका छन् ।

यसरी अभिव्यक्तिका कारण पद गुमाउन वाध्य भएकामा मधेशवादी नेताहरु बढी देखिएका छन् । विगतमा रक्षामन्त्री हुँदा शरदसिंह भण्डारी विवादमा परे । उनले राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएर पद गुमाउन पुगे । भण्डारीलाई त्यसपछि राजनीतिमा निकै ठूलो धक्का पर्यो । रक्षामन्त्री जस्तो पदमा रहेर उनले जुन अभिव्यक्ति दिए त्यो सुहाउने खालको थिए ।

पछिल्लो समय भौतिक पूर्वाधारमन्त्री रेणु यादव विवादमा तानिएकी छिन् । उनले सीके राउतलाई धम्की दिदै गौर नरसंहार दोहोराउने अभिव्यक्ति दिइन् । रौतहटमा ६ माघमा बोल्ने क्रममा मन्त्री यादवले २७ जना तत्कालीन नेकपा माओवादी कार्यकर्ताको कत्लेआम गरिएको घटना सम्झाउँदै सीके राउतका कार्यकर्ताको त्यही हालत बनाइदिने धम्की दिइन् ।

रेणु यादवको अभिव्यक्ति अहिले विवादमा छ । उनको राजीनामा सत्तापक्षकै नेताहरुबाट माग्न थालिएको छ ।

उपप्रधानमन्त्री भएका बखत राजेन्द्र महतोले पनि विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले बहुराष्ट्रिय राज्यको विषय उठाए । ओली सरकारका मन्त्रीले यस्तो अभिव्यक्ति दिएपछि महतो निकै विवादमा परे । यसबारे चर्को बहस चल्यो ।

मधेश केन्द्रित दलका नेताहरु राष्ट्रियको मुद्दामा विवादमा आउने गरी अभिव्यक्ति दिनेमा अगाडि छन् । उनीहरुले बोलेरै मधेशमा आफ्नो प्रभाव बढाउने प्रयास गर्ने गरेका छन् । काठमाडौंविरुद्ध चर्को बोलेमा मधेशमा प्रभाव बढ्ने धारणा विकास भएको छ ।

पछिल्लो समय मधेशवादी नेताहरु नै एक अर्काविरुद्ध आक्रामक अभिव्यक्ति दिन थालेका छन् । हिंसाको डर देखाएर धम्क्याउन थालेका छन् । यसले कुनैपनि बेला मधेशमा आपसमै हिंसा भड्कने खतरा बढेको छ ।



प्रतिक्रिया दिनुहोस्