काठमाडौं, ११ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सम्पत्ति कति होला ? हुम्लाबाट निर्वाचित शाही जति सामान्य लाग्दछन् उनको सम्पत्ति सुनेर धेरैले जिब्रो काट्छन् ।
शाहीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा हुम्लामा मात्र उनको २१५ रोपनी जग्गा छ । काठमाडौंको बनस्थलीमा ५ रोपनी १० आना जग्गा छ । दुवै स्थानमा उनको घर छ ।
बाँकेमा उनको २ बिघा जमिन छ । खजुरामा रहेको उनको जमिन पूख्र्यौली रहेको उल्लेख छ । कुल ३ वटा घर रहेको सम्पत्तिमा उल्लेख गरेका छन् ।
शाहीसँग ५६ तोला सुन, २ किलो चाँदी र तीन लाख बराबरको नवरत्न सम्पत्ति रहेको जनाइएको छ । ६० लाखभन्दा बढी मूल्यको उनीसँग सुन चाँदीलगायतका बहुमूल्य धातुमात्र छन् । उनको ९५ लाख मूल्य पर्ने कार समेत रहेको उल्लेख छ ।
उनको घरमा १२ चौरी, गाई गोरु पालिएको छ । २ वटा घोडा छन् । ५० वटा भेडा छन् । विभिन्न बैंकमा रकम राखिएको उल्लेख छ ।