Logo

‘तीन दिनभित्र सबै ठाउँमा सिटामोल’



काठमाडौं, माघ १२। उपत्यकाको बजारमा सिटामोलको भण्डारण पर्याप्त नभए पनि अभाव भने नभएको पाइएको छ । सिटामोलको विषयमा अनुगमन नियमित भइरहेको र सुरुको अवस्थाभन्दा अहिले धेरै सहज भएकाले अबको तीन दिनभित्र सिटामोल सबै ठाउँमा छ्याप्छ्याप्ती पाइने भनाइ उत्पादकहरूको छ ।

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले आ–आफ्नो जिल्लामा गरेको अनुगमनमा सिटामोलको अभाव नभएको पाइएको हो । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले पछिल्ला चार÷पाँच दिनदेखि बजारमा सिटामोलको अवस्थाबारे अनुगमन गर्दा सञ्चारमाध्यमबाट बाहिरिएको हल्ला यथार्थ नभएको दाबी गरे।

ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले मङ्गलबार ललितपुरका विभिन्न ठाउँमा अनुुगमन गर्ने क्रममा सिटामोल नै नपाउने अवस्था नरहेको बताए । मङ्गलबार पाटन, सुमेरु, अल्कालगायतका अस्पताल र मङ्गलबजारका फार्मेसीमा सिटामोलको उपलब्धताबारे अनुगमन गरिएको जानकारी गराउँदै उनले भने “सिटामोलको आपूर्तिमा केही समस्या रहेछ ।

स्टक कम छ तर सिटामोल नै नभएको अवस्था छैन, एक पाता सिटामोल लगभग सबैजसो फार्मेसीमा पाइन्छ ।”
यस्तै, भक्तपुरका प्रजिअ रुद्रादेवी शर्माले भक्तपुरका अस्पताल र आसपासका क्षेत्रमा पर्याप्त मात्रामा नभए पनि सिटामोल नपाउने अवस्था नभएको दाबी गरिन् । भक्तपुरमा सिटामोल भएर पनि नदिने औषधि पसलमा सूक्ष्म रूपमा निगरानी बढाइएको उनको भनाई छ।

काठमाडौँका सहायक प्रजिअ दीपक पौडेलले काठमाडौँको त्रिपुरेश्वर, थापाथली, बानेश्वर अनामनगरलगायतका क्षेत्रमा गरिएको अनुगमनमा सिटामोल नपाइने अवस्था नरहेको बताए ।

औषधि व्यवस्था विभागका निर्देशक सन्तोष केसीले नेपाल औषधि लिमिटेडले विगत चार दिनदेखि दैनिक तीन लाखका दरले सिटामोलका ट्याब्लेट उत्पादन गर्न थालेकाले अब अभाव नभएको दाबी गरेका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot