Logo

एउटै छानमुनि क्यान्सरको उपचार



काठमाडौँ, २१ माघ। अर्बुद (क्यान्सर) रोगको उपचार नेपालमा नै दक्ष विशेषज्ञ चिकित्सकबाट हुने गरेको छ । पहिले क्यान्सर भएपछि भारतलगायत विदेशमा जानुपर्ने रहेकामा अहिले नेपालमा नै अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवाका चिकित्सकबाट हुने गरेको छ ।

नेपालमा नै भक्तपुर रहेको क्यान्सर अस्पताल, चितवनको विपी कोइराला क्यान्सर अस्पताल, वीर अस्पतालमा (क्यान्सर युनिट), ललितपुरको नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर, झापाको विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर, अस्पताल, काठमाडौँ क्यान्सर केयरमा क्यान्सर रोगको दक्ष विशेषज्ञ चिकित्सकसहित उपचार हुने गर्दछ ।

आज नेपालसहित विश्वभर ‘बढ्दैछ चुनौती क्यान्सरको पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ क्यान्सर दिवस मनाइँदै छ । शरीरको कोष वा कोषिकाको समूहको अस्वाभाविक वृद्धि नै क्यान्सर रोग हो । जसलाई एक किसिमका गिर्खा वा ट्युमर पनि भनिन्छ । क्यान्सर धुम्रपान सुर्तीजन्य पदार्थ तथा मद्यपानको सेवन, अस्वस्थकर खाना, वंशाणुगत कारण, विकिरणको प्रभाव, जीवाणु तथा विषाणुका कारण, वातावरण प्रदूषणको कारणले हुने गर्दछ ।

क्यान्सरबाट बच्नका लागि धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, मद्यपान नगर्ने, सन्तुलित र स्वस्थ खाना खाने, नियमित शारीरिक कसरत तथा व्यायाम गर्नुपर्दछ । नेपालमा बर्सेनिले २५ हजार नयाँ क्यान्सर रोगी थपिने गरेको र २० हजार क्यान्सरका कारणले निधन हुने गरेको छ । सरकारले यसै वर्षदेखि क्यान्सर रोगको उपचारको पहुँच सबैमा पु¥याउन राष्ट्रिय अर्बुद रोग रणनीति लागू गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

नेपालमा फोक्सोको क्यान्सर, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र मुखको क्यान्सर हुने गर्दछ । विश्वमा धेरै मृत्यु हुने रोगहरुमध्ये क्यान्सरबाट हुने गर्दछ । नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा रहेको पहिलो ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पितल एन्ड रिसर्च सेन्टरले ‘नेपालीको क्यान्सरको उपचार नेपालमा नै’ भन्ने नाराका साथ क्यान्सर बिरामीको उपचार गरिरहेको छ ।

सेन्टरका प्रमुख कार्यकारी अधिकृत डा बच्चु कैनीले आफूहरूले दक्ष विशेषज्ञसहित क्यान्सर रोगको उपचार गरिरहेको बताउनुहुन्छ । विसं २०६९ मा स्थापना भएको सेन्टर अहिले १३९ शय्या रहेको छ । सेन्टरमा मेडिकल ओन्कोलोजिस्ट, सर्जिकल ओन्कोलोजिस्ट, रेडियोलोजिस्ट, विकिरण अन्कोलोजिस्ट, विशेषज्ञ सेवासहितका चिकित्सक रहेका छन् ।

सेन्टरले विदेशमा उपलब्ध हुने अत्याधुनिक प्रविधिहरूलाई भित्र्याई एउटै छानामुनि बिरामीको आर्थिक पहुँचभित्र रही गुणस्तरीय क्यान्सर उपचार सेवा दिइरहेको छ । “अस्पतालमा विश्वस्तरीय एउटा अत्याधुनिक क्यान्सर उपाचार केन्द्रका रूपमा स्थापित भएकाले विज्ञ तथा अत्यन्त अनुभवी चिकित्सक एवं अत्याधुनिक उपकरण र प्रविधिको सहयोगले हामीले क्यान्सर बिरामीको उपचार सेवा गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सेन्टरले नेपालीहरुले आफ्नो क्यान्सरको उपचारका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्दै सम्पूर्ण चरणको विभिन्न क्यान्सरको सफलतापूर्वक उपचार गरिरहेका छौँ ।”

यस्तै अस्पतालले क्यान्सर रोगको निदान तथा उपचारका लागि चाहिने सम्पूर्ण सुविधासहित अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय क्यान्सर सेवा रेडियोथेरापी, किमोथेरापी, टार्गेटेड (लक्षित) थेरापी, इमिनोथेरापी आदि सेवा उपलब्ध गराउँदै आइरहेको छ । “हामी विद्यमान वैधानिक व्यवस्थाका अधीनमा रही हाम्रो सेवालाई गुणस्तरीय र सुरक्षित बनाइरहेका छौँ”, सेन्टरका सिइओ डा. कैनीले भन्नुभयो ।

अस्पतालले अहिलेसम्म एक हजार २५० जनाको शल्यक्रिया, किमोथेरापी १६ हजार ९००, रेडियोथेरापी, ७००, इमिनोथेरापी १५, टार्गेटेड (लक्षित) थेरापी, २०० जना बिरामीको उपचार गरेको छ । अस्पतालमा दैनिक १५० जना मानिस उपचार गर्न आउने गर्दछन् । अस्पतालमा आएका कुनै पनि क्यान्सरका बिरामीहरू आर्थिक समस्याले उपचारबाट वञ्चित नहोस् भन्नका लागि गरिब, विपन्न, बिरामीलाई निःशुल्क उपचार गरिरहेको छ । अस्पतालले स्वीकृत शय्याको १० प्रतिशत बिरामीलाई सरकारको निर्देशनअनुसार निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

यस्तै सरकारको निर्देशनअनुसार क्यान्सर बिरामीहरूलाई उपलब्ध गराउने सङ्घीय सरकारको रु एक लाख र बागमती प्रदेश सरकारको रु ५० हजार उपलब्ध गराई विपन्न वर्गका नागरिकलाई उपलब्ध गराउँदै आएको छ ।

सेन्टरका मेडिकल डाइरेक्टर डा बिजेश घिमिरेले नेपालमा नै क्यान्सर रोगको उपचार दक्ष विशेषज्ञ चिकित्सबाट हुने गरेको बताउनुहुन्छ । उहाँ अस्पतालमा क्यान्सर विशेषज्ञले मात्र क्यान्सरको शल्यक्रिया गर्ने गरेको बताउनुहुन्छ । निको नहुने बिरामीलाई लक्षण हेरेर पनि अस्पतालमा उपचार गर्ने गरेको उहाँ बताउनुहुन्छ । “अब क्यान्सरको उपचार गर्न भनेर विदेश नै जानु पर्दैन”, उहाँले भन्नुभयो, “ नेपालमा नै क्यान्सरका बिरामीको उपचार गर्नका लागि अत्याधुनिक उपकरणसहितका अस्पताल रहेका छन् । हाम्रो अस्पतालमा पनि क्यान्सर रोगको विशेषज्ञ सेवासहित अत्याधुनिक उपकरणले उपचार गर्दछौँ ।” सेन्टरमा अहिले ९६ जना दक्ष चिकित्सक रहेका छन् । अस्पतालमा क्यान्सरबाट हुने रोग मानसिक, छाला रोग जस्ता रोगको पनि उपचारसमेत गरिन्छ ।-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot