Logo

‘श्री ५ को वायु गुठीको नाममा भएको राज्य आतंक बन्द गर्न संघर्ष समितिको माग’, तत्काल मन्त्रिपरिषद् बैठकबाट समस्या समाधान गरिनुपर्ने (विज्ञप्तीसहित)



काठमाडौं, २२ माघ । श्री ५ को वायु गुठी समस्या समाधान सघंर्ष समिति धादिङ–गोरखाले धादिङ र गोरखा जिल्लाका करिब तीन हजार ५ सय घरधुरीका स्थानीयहरुको गुठी समस्या तत्काल समाधानका गर्न सरकारसमक्ष माग गरेको छ । समितिले ‘बा जग्गाधनी, छोरा मोही’, हाम्रो जग्गामाथिको अधिकार खोई’, ‘श्री ५ को वायु गुठीको नाममा भएको राज्य आंतक बन्द गर, सम्पत्तिमाथिको मौलिक हक कायम गर’ लगायतका नारा अघि सारेको छ ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रियामार्फत समितिले सरकारले तत्काल मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर समस्या समाधान गर्न आग्रह गरेको हो । साथै, समस्या समाधान नभए आफूहरु सरकारलाई नागरिकता बुझाउनसमेत पछि नपर्ने समितिले चेतावती दिएको छ ।

कार्यक्रममा बोल्दै गुठी संघर्ष समितिका संयोजक ईश्वरीबहादुर लम्सालले सरकारको दमन गर्ने नीतिको विरुद्धमा आफुहरु निरन्तर लागिरहने बताए । ‘जनताको स्वामित्वमा रहेको घर÷बारीलाई श्री ५ को वायु गुठी नापीबाट रैथानको पूर्जि दिएको छ । त्यस रैथानको पूर्जालाई पनि अन्धो सरकारले हचुवाको भरमा कुनै निकायमा नसोधेर मोही भनेको छ । यो कुरा हामीलाई मान्य हुनेछैन्,’ उनले भने ।

यस्तै, उनले जग्गाधनी बाबुको छोरा कसरी मोही हुन्छ ? भन्दै प्रश्न गरे । आफुहरुले निरन्तर रुपमा नापी विभाग र भूमीसुधार मन्त्रालयमा ज्ञापनपत्र बुझाएर समस्या सुनाएपनि सम्बन्धित् निकायले यसमा बेवास्ता गरेको गुनासो गरे ।

‘३५ सय घरधुरी यसबाट विचल्ली भएका छौं । अब त हामी परिआए नेपाल सरकारलाई नागरिकता बुझाउन पछि पर्दैनौं । साविक धादिङ जिल्ला ज्यामरुङ गाविस हाल निलकण्ठ, साविक धादिङ जिल्ला कटुञ्जे गाविस हाल नेत्रावती डोबजोङ, साविक गोरखा थुमी गाविस हाल आरुघाट गाउँपालिकाको विभिन्न क्षेत्रमा भएको जग्गा पुस्तौदेखि भोगचलन गर्दै आएको र नापी हुँदाका बखतदेखि नै रैथान पुर्जा जग्गाधनी रहेको थियो । तर, अहिले राज्यले हचुवाको भरमा हामीलाई मोही बनाउन खोजिएको छ’ –उनले भने ।

साथै, आफुहरुले नयाँ जग्गा नमागेको पनि उनले स्पष्ट पारे । उनले भने,‘२०७२ सालभन्दा पहिला हाम्रो जुन हैसियत थियो, त्यही रुपमा फर्काइदिनुहोस । कुनैपनि नीतिगत निर्णयबिना, कानुनी आधारबिना हामीलाई मोही बनाइएको छ ।’

त्यस्तै, पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रिनले आफुले आफ्नो ठाउँबाट उक्त समस्याको समाधान लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले जनताको सम्पत्ति उसको स्वामित्व छ अथवा छैन् भन्ने कुरामा सरकारले ध्यान दिन जरुरी रहेको पनि धारणा राखे । उनले भने,‘जनताले भोगचलन गरिरहेको छ । तर, श्री ५ सरकारको वायु गुठी लेखिनु विडम्बना हो । यसको समाधान गर्न सबै पार्टीको साथ र सहयोग हुनुपर्छ ।’

रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले आफूहरुले समितिमार्फत अघि सारेका मागप्रति राज्य गम्भीर हुनुपर्नेमा जोड दिए । उनले भने,‘मेरो बुवाको जग्गा आज मैले बेच्न नपाउने ? मेरो लालपुर्जा मैले भिख माग्नुपर्ने ?’

साथै, उनले नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रिनलाई जनताप्रति उत्तरदायी आग्रह गरेका छन् । उनले वडा अध्यक्ष तिलक थापाले आफूहरुको समस्या समाधान नभए चुनाव बहिष्कार गर्छौं भनेकोप्रति पनि आपत्ति जनाए ।

उक्त समस्या समाधान गर्नको लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्नेमा धमलाको जोड थियो । उनले भने,‘मेरो बुवाले दुःख गरेर तीनपटक किनेको जमिन आज मेरो हुन सकेन । यो कस्तो अवस्था आयो ? म यही मञ्चबाट नेताहरुलाई सामूहिक रुपमा समस्या समाधान गर्न गम्भीर बनिदिनुहोस भनेर आग्रह गर्न चाहन्छु ।’

यस्तै, उनले भुमिसुधार मन्त्रीले उक्त समस्याबारे गम्भीर भए एक घण्टामा समस्या समाधान हुने पनि दाबी गरे । ‘जबसम्म मैले मेरो जग्गाको लालपुर्जा पाउँदिन्, तबसम्म आन्दोलन जारी हुन्छ । धादिङवासी पीडामा छन्’–उनले भने ।

त्यस्तै, कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा राप्रपाका युवा नेता पर्शुराम तामाङले आफू समितिले अघि सारेका मागप्रति गम्भीर रहेको बताउँदै समस्या समाधानको लागि सहयोग गर्ने बताए । उनले धादिङ् जिल्लाको राप्रपा पार्टीको तर्फबाट उक्त समस्याको समाधान गर्न आफुहरु नेतृत्व गर्न पनि तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै गुठी संस्थानका पूर्व अध्यक्ष लक्ष्मण ज्ञवालीले उक्त समस्या समाधानको लागि आफुले धेरै प्रयत्न गरेको स्मरण गर्दै गुठी ऐनलाई परिमार्जन नगरेसम्म अहिलेको समस्या समाधान नहुने धारणा राखे । यस्तै, उनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रस्तुत गरिएका गुठी विधेयक पास भएको भए आजको समस्याको समाधान भैसक्ने थियो भन्ने पनि धारणा राखे ।

‘सरकारले क्याविनेटबाट निर्णय नगरेसम्म यो समस्या समाधान हुँदैन् । अथवा विधेयक अथवा अध्यादेश ल्याएमात्र समाधान हुनसक्छ’–उनले भने । साथै, उनले उक्त समस्यालाई अब नयाँ ढंगबाट सम्वोधन गर्न जरुरी रहेको बताए ।

निलकण्ठ–११ का वडा अध्यक्ष तिलक थापाले आफुहरु गुठी संस्था, नापी बिभाग र भुमिसुधार मन्त्रालय बारम्बार धाएपनि सबैबाट झुटो आश्वासनबाहेक केही पनि नपाएको गुनासो गरे । यस्तै, उनले समस्याको समाधान नभए आफुहरु स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने कठोर निर्णयसम्म पुग्नुपर्ने धारणा राखे ।

समितिका सदस्य नबराज लम्सालले पञ्चायतकालमा समेत जग्गाका मालिक भएका जनता आज मोही हुनुपर्ने अवस्था आउनु दुःखद् रहेको बताए । उनले समस्याको समाधान गर्न मन्त्रीपरिषदमा लगेर निर्णय गराउनुपर्ने धारणा व्यक्त गरे ।

नेत्रावती डोबजोङ गाउँपालीकाका अध्यक्ष दुर्गानारायण शाक्यले गाउँपालिको तर्फबाट आफुले जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । साथै, उनले पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर यसको समाधान गर्न सबैजना लाग्नुपर्ने धारणा राखे ।

मिति २०७८/१०/२२

प्रेस विज्ञप्ति

आदणियपत्रकार मित्रहरु

उपरोक्त सम्बधमा धादिङ्ग जिल्ला ज्यमरुङ्ग गा.विस. हाल नीलकण्ठ नगरपालीका ११ र साविक कटुञ्जे गा.वि.स.हाल नेत्रावती गा.पा. सविक गोरखा जिल्ला थुमि गा.वि.स. हाल आर्केट गापाका विभिन्न क्षेत्रमा भएको जग्गा पुस्तौं पुस्तादेखि भोगचलन गर्दै आएको र नापी हुँदाको वखतदेखि वि.स.२०३२ साल नै रैतान पूर्जा जग्गाधनी रहेको र त्यस बखतमा तेरो तिर्नका लागि भनेर पूर्जामा श्री ५ को वायु गुठी लेख्न तत्कालिन वडा हाकिमको आदेशले लगाएकोमा हिष्mश सिष्टमको समस्या देखाउँदै जग्गाधनीको महलमा श्री ५को वायु गुठी र मोहीमा व्यक्तिको नाम लेखी जग्गा धनीको हक हिस्सा महलमा एक लौटी लेखी कुनै तथ्य र प्रमाण नमिल्ने पूर्जा वितरण गरेको हुँदा निम्न बुँदाका आधारमा यस्ता अवाञ्छित र गैर न्यायिक राज्यआतंक र सम्पत्तिमाथिको व्यक्तिको मौलिक हक कायम गराउन मिति २०७८ माघ २२ गते रिपोर्टर्स क्लबमा यस श्री ५ को वायु गुठी समस्या समाधान समितिको आयोजनामा जनदवाव तथा भण्डाफोर कार्यक्रामको आयोजना गरेका छौ ।

हाम्रो विरोध र जनदवाव किन ?

१) पुस्तौ पुस्तादेखि भोगचलन र नापी हुँदाका बखतदेखि रैताने रही व्यक्तिको नाममा जग्गाधनी पूर्जा कायम रहेको ।
२) विगतदेखि नै जिल्ला मालपोत कार्यालयमा नगदी तीरो तिर्दै आएको ।
३. विगत समयमा जग्गाधनीले जग्गा खरिद विक्रि, बैकिङ्ग धितो बन्धक तथा नक्शापास एवं जग्गाको हिस्सा हस्तान्तरण हुँदा कुनै समस्या र वेवधान नरहेको ।
४) वि.स. २०७२ सालमा मालपोत कार्यालयमा नयाँ सफ्टेवयर निमार्ण भई कम्युटर राइज सिष्टम लागू गर्ने नाममा व्यक्तिको नाममा रहेको जग्गाको जग्गाधनी महलमा श्री ५ को वायु गुठी लेख्ने सुरु भएको र हक हिस्सा एकलौटी विना प्रमाण र आधारमा मोहीको महलमा व्यक्तिको नाम लेख्न थालेको ।
५) ीचष्mक सिष्टमको नाममा समस्या भएपश्चात् त्यस क्षेत्रका वासिन्दा विभिन्न जनदवाव तथा संघर्षको कार्यक्रमगरि जिल्ला मालपोत कार्यालय, गुठी संस्थान, मालपोत विभागतथा सम्बन्धित निकायबाट जग्गाधनी व्यक्ति नै रहेको भन्ने व्यहोराको पत्रहरु प्राप्त भएको ।
६) कुनैपनि नीतिगत निर्णय सम्बन्धित एवं कानून आधारबिना तथ्य प्रमाण बिना नै जग्गाधनीको महलमाश्री ५ काृे वायु गुठी लेखेको हाल सम्म पनि जग्गा पास लिखितममा जग्गाधनीको महलमा व्यक्ति कै नाम जग्गाफिल्ड बुकमा पनि जग्गाधनीमा व्यक्ति कै नाम र नगद तिरोमा पनि व्यक्ति कै नाम रहेको छ ।
७)मिति २०७८÷०६÷१७गते चलानी नं. ३४४ मा गुठी संस्थानबाट भूमिव्यवस्था विभागलाई लेखेको पत्रमा यस क्षेत्रको जग्गा रैताने नम्बरी जग्गाहो भनिपत्रचार भएको मिति२०७७÷८÷… मा भूमी व्यवस्था तथा अभिलेख विभागको चलानी नं. ७६१ बट मालपोत कार्यालय धादिङ्गलाई साविकमा प्रदान गरेको पूर्जा बमोजिम वितरण गर्नु खरिद बिक्री तथा बैकिङ्ग कारोबार एवं जग्गामा व्यक्तिको स्वामित्व कायमगर्न कुनै व्यवधान नरहेको पत्रचार भएको ।
८) जिल्ला मालपोत कार्यालय मिति व.सि. २०७५।१२। १२ को पत्रचनं ८२४३ मा भू मि व्यवस्था विभागलाई लेखेको पत्रमा जग्गाधनी व्यक्ति नै भएको तर नयाँ प्रणाली अनलाईन सिष्टमको कारण मात्रजग्गा धनीमहलमा श्री ५ को वायु गुठी रहनगएको भन्ने जानकारीको पत्रपचार भई सिष्टम परिवर्तनको लागि आवेदन भएको पत्र ।
९) माथि उल्लेखित तथ्य तथा प्रमाणको आधारमा यस क्षेत्रको जग्गा व्यक्तिकै रहेको र हामी जग्गाधनी कुनै पनि प्रमाण र तथ्यले श्री ५ को वायुगुठी मान्य हुन नसक्ने हुँदा हाल सबै फाइल भूमि व्यवस्था विभागले नीतिगत निर्णयका लागि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा रोकिएको हुँदा तत्काल यसको निर्णय दिनु र सबै ३५ सय घर धनीको व्यक्तिगत जग्गा माथिको भू–स्वामित्व कायम गरिदिनुहुन सम्बन्धित मन्त्रालय मन्त्रीज्यु समक्ष नेपाल सरकारलगायत सम्पूर्ण सरोकारवाला निकायको ध्यानाकार्षण गराउँदछौं ।

इश्वरी बहादुर लम्साल
संयोजक
श्री ५ को वायु गुठी समस्या समाधान समिति

 



प्रतिक्रिया दिनुहोस्