Logo

अनलाइन फर्म कीर्ते गर्ने कार्यमा संलग्न ३ जना पक्राउ



काठमाडौं,२३ माघ । राहदानीको अनलाइन फर्म कीर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं सोल्टिमोड बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ घर भएका ३५ वर्षीय दिनेश तामाङ, काठमाडौं टोखा बस्ने लम्जुङ बेसीसहर गाउँपालिका–११ घर भएका ४० वर्षीय नविन कुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे घर बताउने ३६ वर्षीय यम बहादुर थापा मगर रहेका छन् ।

काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी बिभागको हाता बाहिर राहदानीको अनलाइन फर्मको कीर्ते गरी सेवाग्राहीहरुबाट रकम असुल गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट नगद ४० हजार रुपैयाँ, १ थान कम्प्युटर, १ थान ल्यापटप, १ थान प्रिन्टर र ५० थान कीर्ते गरिएका कागजपत्र समेत प्रहरीले बरामद गरेको प्रहरीले बताएको छ ।

उनीहरुमाथि कीर्ते गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot