काठमाडौं, २८ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तरगत दशौँ चरणका खेलहरु आज (शुक्रबार)बाट सुरु हुँदैछ । केहि समयको विश्राम पछि आजबाट सुरु हुन लागेको लिगमा आज दुई खेल हुनेछन् ।
आज हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ ।
फ्रेन्ड्स र ब्रिगेड दुबै टोली जित निकाल्ने योजनासहित मैदान उत्रने छन् ।
नौं खेलमा छ हार र ३ बराबरी खेल्दै ३ अंक जोडेको फ्रेन्ड्स तालिकाको पुछारमा रहेको छ । रेलिगेसनबाट जोगिन फ्रेन्ड्स आज जित्नैपर्ने दबावमा रहेको छ ।
यस्तै, ६ अंक जोडेर १२ औं स्थानमा रहेको ब्रिगेडलाई पनि रेलिगेसनबाट बन्च जित आवश्यक छ ।
यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ४ः४५ बजे सुरु हुनेछ ।
१७ अंकका साथ तेस्रो स्थानमा रहेको आर्मी जावलाखेललाई हराउदै दोस्रो स्थानमा उक्लन चाहन्छ ।
साथै, ८ अंक जोडेर ११औं स्थानमा रहेको जावलाखेल पनि तालिकामा सुधार ल्याउन आज जितको खोजिमा रहनेछ ।