काठमाडौं, माघ २८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको आजको बैठकमा प्रस्तुत विधानमाथी छलफल हुने जनाईएको छ । भोली आईतबार बस्ने बैठकले विधान पारित गर्नेछ ।
बिहीबारदेखि जारी केन्द्रीय कार्यसम्पादनको बैठकमा भातृ संगठनको विधानका विषयमा छलफल भएको छ । कांग्रेस नेता एनपी साउदले शुक्रबारको बैठकमा कांग्रेसको संघीय संरचना अनुरुपको भातृ संगठनको विधान प्रस्तुत गरेका छन् ।
यससँगै बैठकमा स्थानीय तहको निर्वाचन, अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विषयमा छलफल भएको छ ।
विहिबारको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिह के सी, डा शेखर कोइराला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले आफ्नो धारणा राखेका थिए ।