Logo

सीमामा बढ्दो तनावलाई लिएर युक्रेनद्वारा रुसलाई बैठक बस्न अनुरोध



युक्रेनले आफ्नो सीमामा बढ्दो तनावलाई लिएर रुस र प्रमुख युरोपेली सुरक्षा समूहका सदस्यहरूसँग बैठक बोलाएको छ। युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले रुसले चलिरहेको सैन्य तैनाथीको बारेमा कुरा गर्ने हाम्रो औपचारिक अनुरोधलाई बेवास्ता गरेको बताएका छन्।

उनले भनेका विषयलाई उदृत गर्दै संचार मध्यमहरुले लेखेका छन्, ‘हाम्रो अर्को चरण रुसको योजनाबारे ‘पारदर्शिता’का लागि आगामी ४८ घण्टाभित्र भेट्ने हो, हामीले बैठक बस्न अनुरोध गरेका छौं।’

रुसले युक्रेनसँगको सिमानामा झण्डै एक लाख सेना तैनाथ गरेको भए पनि युक्रेनमाथि आक्रमण नगर्ने बताउँदै आएको छ। तर, केही पश्चिमी देशहरूले रुसले सैन्य कारबाहीको तयारी गरिरहेको चेतावनी दिएका छन्। गत हप्ता अमेरिकाले रुसले युक्रेनमा ‘कुनै पनि समय’ हवाई बम आक्रमण गर्न सक्ने बताएको थियो।

अमेरिका लगायत दर्जनौं देशले आफ्ना सबै नागरिकलाई युक्रेन छाड्न पनि चेतावनी दिएका छन्। धेरै देशले युक्रेनको राजधानी कीभमा रहेको आफ्नो दूतावासबाट कर्मचारी फिर्ता बोलाउन थालेका छन्। सीबीएस न्यूजले तीन स्रोतलाई उद्धृत गर्दै आगामी ४८ घण्टाभित्र अमेरिकाले किभबाट आफ्ना सबै कर्मचारी फिर्ता गर्ने तयारी गरिरहेको बताएको छ।-बीबीसी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्