Logo

सांसदहरु नै खाली कागजमा हस्ताक्षर गर्न वाध्य



काठमाडौं, २ फागुन । के तपाईं खाली कागजमा हस्ताक्षर गर्न तयार हुनुहुन्छ ? पक्कै पनि हुनुहुन्नँ । खाली कागजमा हस्ताक्षर गर्दा तपाईंलाई जो कोहीले फसाउन सक्छ ।

तर, मुलुकमा कानून निर्माण गर्ने सांसदहरु नै खाली कागजमा हस्ताक्षर गर्न वाध्य बनाइएका छन् । त्यो पनि आफ्नै दलको नेतृत्वबाट ।

१ फागुनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्दाको हस्ताक्षरकर्ता सांसदहरु नै खाली कागजमा हस्ताक्षर गर्न डाकिएका थिए । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीका सांसदहरुले खाली कागजमा हस्ताक्षर गरेका थिए । पछि मात्र महाभियोगको ड्राफट त्यसमाथि लेखिएको थियो ।

विश्वस्त स्रोतका अनुसार माओवादी केन्द्र र नेकपा एसका सांसदहरुको धैरैवटा खाली कागजमा हस्ताक्षर तयारी अवस्थामा छ । काँग्रेसले पनि यसपटक तयार गरेर राखेको बुझिएको छ ।

आज नेकपा एमालेले सांसदहरुलाई ६ वटा खाली कागजमा हस्ताक्षर गर्न लगाएको छ । त्यसको प्रायोजनबारे सांसदहरु नै अनभिज्ञ छन् । भीम रावलसहित ५ सांसदले खाली कागजमा हस्ताक्षर गर्न मानेनन् ।

महाभियोगको फायर खोलिएको र यसले सत्ता गठबन्धन र प्रतिपक्षी एमालेबीच एक अर्काको विरुद्ध प्रहार सुरु भएको छ । यसले राजनीतिमा रोचक मोड लिएको छ । तर, इतिहासमा फेरि कानून निर्माण गर्ने सांसदहरु नै निरिह भएका छन् । उनीहरु गोटीमा परिणत गरिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot