Logo

एमसीसीविरुद्ध कम्युनिस्ट एक बनाउने पहल, ओली-प्रचण्ड मिलाउने भित्री तयारी



काठमाडौं, ६ फागुन । अमेरिकी सहयोगसम्बन्धी एमसीसी यतिबेला बहसको केन्द्रमा छ । एमसीसीले सत्ता गठबन्धन भत्कने देखि नयाँ समिकरण बन्ने सम्मको परिस्थिति विकास हुँदै गएको छ ।

एमसीसीमा दलहरु ध्रुवीकृत भएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चा नेपाल, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित हार्डलाइनर कम्युनिस्टहरु विरोधमा छन् । कतिपयले सडक संघर्ष सुरु गरिसकेका छन् ।

एमसीसीमा नेपाली काँग्रेस, जसपाको बाबुराम भट्टराई समूह र लोसपा पक्षमा छन् । नेकपा एमाले भने अनिर्णत नै छ । एमसीसीले वामपन्थी र गैरवामपन्थी शक्तिबीच ध्रुवीकरण भएको छ । वामपन्थी शक्ति यही मुद्दामा एक हुने प्रयासमा छन् ।

नेकपा एमालेलाई तान्न काँग्रेस र माओवादी दुवै प्रयासरत छन् । सत्ता समिकरण देखि बाह्य शक्तिको प्रभावले एमालेको निर्णय निर्धारण हुने देखिदैछ । एमालेको सत्ता गठबन्धन भत्काउने दाउ छ । त्यसपछि उसले लिने निर्णय भन्न सकिने अवस्था छैन ।

एमाले एमसीसीको विरोधमा गएमा कम्युनिस्ट शक्ति एक हुन सक्छन् । एमसीसी टेबल भएपनि एमालेका भीम रावल र घनश्याम भुसाललगायत संशोधन प्रस्ताव दर्ताको अग्रिम तयारीमा छन् । टेबल भएपनि एमालेभित्र ठूलै हलचल आउन सक्छ । जसरी पनि कम्युनिस्ट पार्टी एक बनाउन एउटा ठूलो शक्ति लागेको छ । विशेषगरी ओली र प्रचण्डको मेल गराउन उत्तरी छिमेकी चीन भित्र भित्र लागिरहेको छ । विगतमा खुलेरै मिलाउन लागेको थियो ।

एमसीसीविरोधी जनमत बढेको देखाएर एमालेमाथि दबाब बढाउन प्रचण्ड सक्रिय छन् । कम्युनिस्टहरु एक भएर चुनावमा जाने रणनीति समेत बनेको छ । देउवालाई यही डर छ । चुनावमा एक भएर एमसीसीविरोधी जनमत बनाइराखेर माहोल तयार गर्ने रणनीतिबारे समेत कम्युनिस्ट दलहरुभित्र बनिरहेको छ ।

एमसीसीविरोधी मुद्दामै एक बनाउने र चुनाव लड्न सके भारी बहुमत आउने रिपोर्टहरु कम्युनिस्ट पार्टीहरुभित्र बनेका छन् । यही आधारमा कम्युनिस्ट शक्ति मिलाउने प्रयास भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot