Logo

नेपालमा अमेरिका-चीन खुलेआम टकराव



काठमाडौं, ६ फागुन । नेपाल मामलामा अमेरिका र चीन खुलेआम टकरावमा उत्रिएका छन् । दुवै देशले एमसीसीबारे एक अर्कामाथि खुलेआम र विभिन्न माध्यमले आरोप लगाउन थालेका छन् ।

अमेरिकी राजदूतावासले आज सामाजिक सञ्जालमा एमसीसीको विषयमा वाक स्वतन्त्रता र तथ्यमा आधारित बहसको बलियो समर्थक भएपनि हिंसा या हिंसा भड्काउने किसिमको विचारहरु स्वीकार्य नहुने भन्दै चेतावनी दिएको छ । यसअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू ले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई धम्की दिएको चर्चा चलेको थियो । माओवादी अध्यक्ष प्रचण्डले पनि अमेरिकाले धम्की दिएको आशयको अभिव्यक्ति दिएका थिए ।

यसबारे आज चीन खुलेआम बोलेको छ । उसले अमेरिकामाथि बलजफ्ती कूटनीति गरेको आरोप लगाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविङले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले नेपाली जनताको चाहना र राजनीतिक शर्तविनाको सहयोग हुनुपर्ने भन्दै अमेरिकाले बलजफ्ती गर्न खोजेको आरोप लगाए । योसँगै अमेरिका र चीनबीच नेपाल मामलामा खुलेआम टकराव बढेको छ ।

पछिल्लो समय एमसीसी रोक्न चीन लागेको चर्चा चलिरहेको छ । एमसीसी विरोधी दलहरुमा प्रभाव बनाएर चीनले दबाब सृजना गरिरहेको विषय आइरहेको छ । अमेरिकाले एमसीसी रोकेमा चीनको नेपालमा हस्तक्षेप बुझ्ने अमेरिकी चेतावनी आएको थियो । यसको जवाफमा चीन बोलेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot