काठमाडौं, ८ फागुन । सत्तारुढ गठबन्धनको बैठकले एमसीसी संसद्मा टेबल गर्न दिने सहमति गरेको छ । बैठकमा सभागी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी सदनमा टेबुल गर्न दिने सहमति भएको जनाए ।
उनले भने,‘एमसीसी सदनमा टेबुल गर्न दिने सहमति भएको छ, एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ । एमसीसी केपी ओलीकै पालामा संसद सचिवालयमा दर्ता भइसकेको छ । त्यसलाई सदनमा पेस गर्ने सहमति जुटेको छ ।’
हिजोमात्रै नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले एमसीसी सदनमा टेबुल गर्न दिनुपर्ने निश्कर्ष निकालेको थियो । गठबन्धनमा आवद्ध मुख्य दलहरु एमसीसी टेबुल गर्न दिने पक्षमा प्रस्तुत भएपछि नेकपा (माओवादी केन्द्र) ले पनि टेबुल गर्नेबारे सहमति जनाएको हो ।
प्रतिनिधिसभाको बैठक आइतबार (आज) दिउँसो १ बस्दै छ । गठबन्धन बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई सहभागी थिए ।
यद्धपी अर्थमन्त्री जनार्दन शर्माले भने एमसीसी टेबुल नगर्ने भएका छन् । उनी विरामी भएर घरमै आराम गरेकोले कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले संसदमा टेबुल गर्ने तयारी छ। यो सँगै माओवादी केन्द्र तत्काल सरकारबाट बाहिरिने सम्भावना पनि नरहेको एक नेताले जनाए ।
तर, एमसीसी पास/फेलको लागि भोटिङमा गएपछि र एमसीसी पास भएको अवस्थामा भने माओवादी केन्द्रले सरकार छोड्ने बुझिएको छ । किनकी माओवादी केन्द्रले यसअघि नै एमसीसीमा मतदान भए विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । file photo