Logo

देउवा–ओली ‘वान टु वान’ वार्ताः भएकै हो ‘जेन्टल एग्रिमेन्ट’?



काठमाडौं, फागुन ११। अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ ।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सामूहिक तथा वान टु वान भेटवार्ता भएको थियो ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सुरुमा नै एमसीसी परियोजना एमालेकै सरकारको पालामा संसद्मा दर्ता भएको योजना भएकाले सो परियोजनालाई सरकारले टुंगोमा पु(याउन अघि बढेको भन्दै सघाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाको सो आग्रहपछि एमाले अध्यक्ष ओलीले आफ्नो दलले विगतदेखि नै केही राजनीतिक मुद्दाको माग राखेर संसद्मा अवरोध जारी राखेकाले ती माग पूरा गर्नेतर्फ सरकारले सहज वातावरण बनाए एमसीसीमा सघाउने बताएको स्रोतको दाबी छ ।

उच्च स्रोतका अनुसार एमसीसीमा एमालेले सघाउने विषयमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच ‘जेन्टल एग्रिमेन्ट’ नै भएको छ । ‘उहाँहरूका आफ्ना माग छन्, ती मागका विषयमा भेटवार्ताका क्रममा एमालेकातर्फबाट सरकारलाई ध्यानाकर्षण गराइएको छ, एमसीसीमा प्रधानमन्त्रीज्यूले सघाउन गरेको प्रस्तावमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबीच जेन्टल एग्रिमेन्ट भएको छ,’ भेटवार्तामा सहभागी एक नेताले राजधानीसँग भने, ‘फेरि बुधबार छलफल हुन्छ ।’ प्रधानमन्त्री देउवा र ओलीबीच वान टु वान वार्ताका क्रममा भएको भित्री सहमतिका विषयमा भने दुवै पक्षले केही खुलाएका छैनन् ।

बालुवाटार स्रोतका अनुसार भेटवार्ताका क्रममा एमाले नेताहरूले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका र माधवकुमार नेपालको दलमा गएका १४ सांसदको विषयलाई प्राथमिकताका साथ उठाएका थिए । उनीहरूले सभामुख सापकोटाले एमालेले ती सांसदहरूमाथि गरेको कारबाहीको सूचना संसद्मा टाँस नगरेको र सभामुखको भूमिका उचित नभएको भन्दै विकल्पमा पनि ध्यान दिन सरकारलाई भनेका थिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot