Logo

रुस-अमेरिका टकराव, कहाँ को जित्यो ?



काठमाडौं, १२ फागुन । विश्वको शक्ति सन्तुलनमा परिवर्तन आइरहँदा अमेरिका र रुसबीच विश्वभर टकराव चलिरहेको छ । यी दुई देश प्रत्यक्ष युद्धमा नउत्रिएपनि विश्वभर प्रभाव जमाउने प्रतिष्पर्धामा छन् । परिणामस्वरुप विश्वका कतिपय देशहरु आन्तरिक द्वन्द्वमा धकेलिएका छन् ।

पछिल्लो समय युक्रेनमाथि रुसको हमला सुरु भएको छ । यसमा पनि अमेरिका र रुसबीच नै टकराव देखिन्छ । युक्रेनलाई अमेरिकालगायत पश्चिमा देशहरुको साथ छ । आफ्नो सीमासँग जोडिएको प्रभाव क्षेत्रमा अमेरिका हावी हुन खोजेको भन्दै रुसले आक्रामक कदम चाल्यो ।

युक्रेनमा रुसको हमला हुनुमा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्तालाई जोडेर हेर्न थालिएको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता गर्नुलाई कमजोरी भन्दै यसबाट रुस उत्साही भएको टिप्पणी गरेका छन् ।

अफगानिस्तानमा तालिवानको पुनः उदय र अमेरिकी फौजको फिर्तीलाई उसको पराजयका रुपमा विश्लेषण गरिएको छ । कुनैबेला तालिवानलाई प्रयोग गरेर अमेरिकाले सोभियत संघका सेनालाई अफगानिस्तानबाट फर्कन वाध्य पारेको थियो । रुसले त्यही रणनीति अपनाएर तालिवानलाई प्रयोग गरेर अमेरिकी सैनिकलाई फिर्ता हुन वाध्य बनायो । उसले त्यसका लागि चीन र पाकिस्तानको साथ लिएको खुल्दै गएको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गर्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खान मस्कोमो हुनु अर्थपूर्ण रहेको छ । सन् १९९९ मा नवाज सरिफ रुस गएपछि पहिलोपटक पाकिस्तानी प्रधानमन्त्री त्यहाँ पुगेका हुन् ।

सिरियामा रुस समर्थित बसर अल असदलाई सत्ताबाट हटाउन अमेरिकाले निकै प्रयास गरेको थियो । तर, सफल हुन सकेन । असदलाई पुटिनको दरिलो साथ भयो । रुसी सैनिक नै सिरिया पुगे । जसका कारण सिरियामा विद्रोहीहरु कमजोर भए । त्यहाँ पनि अमेरिका असफल भयो ।
लिबियामा पनि रुसले प्रभाव बढाउँदै लगेको छ । ठूलो परिमाणको प्राकृतिक स्रोत रहेको लिबियामा अमेरिकालगायत पश्चिमा देशहरुले प्रभाव बनाएका छन् । मोहम्म गद्दाफीलाई सत्ताबाट हटाउन अमेरिकाले त्यहाँको विद्रोहीलाई सघाएको थियो । त्यहाँ फेरि रुस हावी हुन खोज्दैछ ।

भेनेजुएलाको रुस समर्थित सत्ता ढलाउन अमेरिकी सहयोगमा विरोधी सक्रिय भएका थिए । तर, त्यो सफल हुन सकेन । भेनेजुएलामा रुसको प्रयास असफल भयो । प्राकृतिक स्रोतको धनी देश भेनेजुएलामा दशकौं देखि रुसको प्रभाव छ । उसले ठूलो परिमाणमा रुसबाट हतियार खरिद गर्दै आएको छ ।

ल्याटिन अमेरिकी देशहरु निकारागुवा र क्युबामा पनि रुसको प्रभाव छ । त्यहाँ आफ्नो प्रभाव कायम राख्न अमेरिकाले निकै प्रयास गरेपनि सफल हुन सकेको छैन । विशेषगरी क्युबामा सत्ता परिवर्तनको अमेरिकी प्रयास सफल हुन सकेको छैन ।

रुसले अर्जेन्टिना, मेक्सिको र ब्राजिल जस्ता देशहरुमा पनि प्रभाव बढाउँदै लगेको छ । उसले हतियार विक्री र ऊर्जामा लगानीमा बढी ध्यान दिइरहेको छ ।

मध्यपूर्वमा पनि रुसको प्रभाव छ । सिरियामा उसको परम्परागत प्रभाव कायमै छ । पछिल्लो समय साउदी अरेबियामा रुसी प्रभाव बढेको छ । साउदी अरेबियामा राजकुमार मोहम्मद बिन सलमान शक्तिमा आएपछि रुससँगको सम्बन्धलाई प्राथमिकतामा राखेका छन् । सलमानप्रति अमेरिका सकारात्मक देखिएन । तर, अमेरिकाले परम्परागत सम्बन्ध साउदी अरेबियासँग कायमै राखेको छ । त्यहाँ प्रभाव राखेपनि रुसको चुनौती सामना गरिरहेको छ ।

इरानमा रुसको निकै बलियो प्रभाव छ । इरानमा आफ्नो प्रभाव बनाउन अमेरिकाले धेरै प्रयास गरेपनि सकेको छैन ।

यूरोपमा पनि रुसले प्रभाव बढाउँदै लगेको छ । नोरड स्ट्रिम २ भनिने ग्याँस पाइपलाइन आर्थिक मात्र नभई सामरिक महत्वको छ । जर्मनीलाई ग्याँस विक्री गर्न जडान गरिएको उक्त पाइपलाइनप्रति अमेरिकाको आपत्ती छ । उक्त पाइपलाइन निर्माण रोक्न प्रयास गरेपनि अमेरिका सफल भएन । तर, तत्काललाई सञ्चालन रोक्न सफल भएको छ । उक्त पाइपलाइन सञ्चालनमा आएमा पश्चिम यूरोपमा ग्याँस आपूर्तिबाट रुसले प्रभाव बढाउने आँकलनहरु गरिएका छन् ।

रुसले पूर्व सोभियत राज्यहरुको समूह बनाएको छ । काजिकिस्तानमा पश्चिमा समर्थित विद्रोह देखिएपछि त्यहाँको सत्ता नै धरमराएको थियो । रुसी सैनिक पसेर काजिकिस्तानको सत्ता टिकाएका थिए ।

यसरी रुसले कतिपय देशमा भएका टकरावमा अमेरिकालाई पराजित गर्न सकेको छ । कतिपय देशहरुमा भने रुस पराजित भएको छ । यसरी विभिन्न देशमा प्रभाव बढाउन अमेरिका र रुस लागिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot