काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले कांग्रेससँग आफूहरुको कुराकानी भएपनि कुनै खास सहमति नभएको स्पष्ट पारेका छन् । आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले कुनैपनि विषयमा सहमति नभएको जिकिर गरे । उनले सदन अहिले अवरोधको अवस्थामा रहेको सुनाए । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा प्रधानमन्त्री तयार छु भनेर भनेको कुरा बाहिर आएकोप्रति उनले हावादारी कुरा भनेका छन् ।
उनले ओली र प्रचण्डबीच सदनको अवरोध हटाउने विषयमा कुराकानी भएको सुनाए । उनले एमसीसीको बारेमा एमाले अनिर्णयमा बस्ने पार्टी नभएको जिकिर गरे । उनले अहिलेपनि सत्ता गठबन्धनमा १६५ को बहुमत रहेको सुनाए ।
उनले आफ्नो पार्टीका अध्यक्ष ओलीले पनि कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग गठबन्धनबारे सोधेको पनि सुनाए । उनले आफूहरुको चाहना गठबन्धन तोड्ने नरहेको जिकिर गरे ।