Logo

एमसीसीविरुद्ध लिखित रुपमै अघि बढ्दै श्रेष्ठ पक्ष



काठमाडौं, फागुन २० । संसद्बाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएपछि नेकपा (माओवादी केन्द्र) भित्र चुलिएको मतभेदलाई लिएर असन्तुष्ट पक्षले लिखित रूपमै असहमतिको प्रस्ताव अगाडी बढाउने भएको छ ।

आजबाट राष्ट्रिय सभागृहमा बस्न लागेको पार्टीको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पक्ष लिखित असहमति राख्ने तयारीमा छ । एमसीसी अनुमोदन भएपछि त्यसलाई कालो दिनका रूपमा चित्रण गरेका श्रेष्ठले पार्टी अध्यक्ष दाहालको टिप्पणीप्रतिसमेत असहमति जनाउँदै आएका छन् ।

दाहालको अभिव्यक्तिबाट चिढिएका श्रेष्ठले आफूनिकट नेताहरूसँगसमेत आन्तरिक छलफल गरिसकेका छन्। श्रेष्ठले आफू पक्षधर केन्द्रीय सदस्यहरूसंग दुई दिन आन्तरिक छलफल गरिरहेका छन् ।

उक्त छलफलमा श्रेष्ठ पक्षका नेताहरूले अध्यक्ष दाहालले एकलौटी निर्णय लिँदै गएको भन्दै नयाँ पार्टी गठन गर्नेसम्मको सुझाव दिएका थिए । श्रेष्ठले पार्टीछाड्ने तयारी गरेको चाल पाएपछि दाहाल उनलाई रोक्न दुई दिन श्रेष्ठ निवास पुगेका थिए ।

दाहालले श्रेष्ठलाई भेटेर पार्टी छाडेर नजानसमेत आग्रह गरिसकेका छन् । अध्यक्ष दाहालको अभिव्यक्तिपछि श्रेष्ठ समूहमा तीव्र असन्तुष्टि बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्