Logo

स्थानीय निर्वाचनमा माहोल बनाउँदै कांग्रेस



काठमाडौं, फागुन २२ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एक महिने निर्वाचन विशेष अभियान सुरु गर्ने तयारी गरेको छ ।

कांग्रेसले संगठन सुदृढीकरण र स्थानीय तह निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ स्थानीय तहका तल्लो तहसम्म नै निर्वाचन लक्षित अभियान सुरु गर्न लागेको हो । अभियानलाई ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ नारा दिएको छ ।

सरकारले ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति तय गरिसकेको छ । कांग्रेसको ३ फागुनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत कांग्रेसले निर्वाचनलाई लक्षित गर्दै एक महिने अभियान सुरु गर्ने निर्णय गरेको थियो ।
निर्वाचन लक्षित एक महिने अभियान कार्यक्रमको खाका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले तयार गर्दै गरेका छन् ।

स्थानीय तहको निर्वाचन लक्षित विशेष अभियानमा कांग्रेसले केन्द्रीय तहका नेतालाई जिल्लाको कमान्डर तोक्नेछ । यसैगरी, पार्टीका तर्फबाट प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा सम्बन्धित स्थानबाट प्रतिनिधित्व गर्ने नेतालाई समेत कांग्रेसले अभियानमा खटाउनेछ ।

यस्तै, पार्टीका जिल्ला र प्रदेश तहमा रहेका नेतासमेत विशेष अभियानभर स्थानीय तह केन्द्रित हुनेछन् । कांग्रेसले स्थानीय निर्वाचनका लागि घोषणा पत्र तयारी समितिसमेत गठन गर्दै छ । त्यसका लागि सभापतिले आवश्यक परामर्श गरी समिति गठन गर्ने कांग्रेसको कार्यसम्पादन समितिको निर्णयमा उल्लेख छ ।

कांग्रेसले एक महिले अभियानमा पार्टीका सबै तह, सबै भ्रातृ र शुभेच्छुक संस्थालाई सम्पूर्ण रूपले ऐक्यबद्ध भएर सहभागी हुन निर्देशनसमेत गरिसकेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot