फागुन २६, काठमाण्डौ । यतिबेला स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको रंग निकै चर्चामा छ । निर्वाचन आयोगले मतपत्रको रंग हरियो बनाउने निर्णय गरेसँगै नेकपा एमालेका अध्यक्ष केपी ओलीले आपत्ति जनाए । ओली असन्तुष्ट हुनुको कारण थियो, प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसको चुनाव चिन्ह रुख पनि हरियो हुनु । तर आयोगले कसैको चुनाव चिन्हसँग मिलाउनका लागि नभएर प्राविधिक कारणले मात्रै मतपत्र हरियो बनाउन लागेको जवाफ दिएको छ ।
निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय निर्वाचनमा चुनाव चिह्न हरियो रङको बनाउने निर्णय गरेको छ । तर नेकपा एमालेका अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई फाइदा हुने गरी चुनाव चिह्न हरियो बनाउन खोजेको भन्दै आयोगको आलोचना गरिरहेका छन् ।
मतपत्रको रंगबारे निर्वाचन आयोगले ओलीलाई प्रष्ट जवाफ दिएको हो । कुनै पनि दलको चुनाव चिन्हसँग रंग मिल्दैमा त्यसलाई अन्यथा नलिने आग्रह गर्दै आयोगले प्राविधिक कारणले मात्रै हरियो मतपत्र बनाउन लागिएको जवाफ दिएको छ । आयोगका सुचना अधिकारी सूर्यप्रसाद अर्यालले २०७४ सालको चुनावमा निलो रङको मतपत्र प्रयोग भएको र स्वस्तिक छापमा प्रयोग हुने मसी पनि निलो नै भएकाले मतगणनामा अप्ठेरो परेकाले यसपटक फरक रङको मतपत्र प्रयोग गर्न खोजिएको बताए ।
मतपत्रका विषयमा कसैलाई शंका लागे स्पष्ट पार्न तत्पर रहेको तर मतपत्रको रंग परिवर्तन भने नगर्ने संकेत प्रवक्ताले गरेका छन् ।
यसैबीच आयोगले विद्युतीय भोटिङ मेसिनको प्रयोग सम्भव नरहेको दोहोर्याएको छ । अहिलेको अवस्थामा बजेटको अभावका कारण विद्युतीय मेसिनको प्रयोग गर्न नसकिने भएको हो । त्यसैगरी विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न पनि नसकिने आयोगले स्पष्ट पारेको छ । यसअघि सर्वोच्च अदालतले नै विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन आदेश दिएको भए पनि कानुनी पूर्वाधार नै नबनेको आयोगले जनाएको छ ।