Logo

हामी आफ्नै तागदमा चुनाव जित्छौं : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै तागदमा निर्वाचन लड्ने बताएका छन् । आज (शनिबार) नुवाकोट पुगेको बेलामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले हाम्रो पार्टी पनि निर्वाचनमा होमिएको छ । निर्वाचन केन्द्रित दुई महिने अभियान लिएर जाँदैछौं । एमसीसीलाई लिएर फेरि विभाजित हुने हो कि भन्ने चर्चा उठे । हामीले केन्द्रीय कमिटीमा पनि यो विषयमा छलफल भएको छ, सम्पूर्ण रुपमा चुनावमा केन्द्रित भएर जानुपर्छ । अभियान पनि देशव्यापी रुपमा चल्नुपर्छ। पार्टीलाई विजयी बनाउने योजना छ ।’

उनले आफूहरुले आफ्नै खुट्टामा उभिएर र आफ्नै तागदमा उभिएर चुनाव जित्ने कुरालाई प्राथमिकता दिएको पनि सुनाए । उनले भने,‘हामी आफ्नै तागदमा चुनाव लड्छौं । तर, तालमेल गर्दा गठबन्धनकै बीचमा जोड गर्ने भन्ने छ । एमसीसी जस्ताको त्यस्तै पारित गर्नुहुँदैन् भन्ने पार्टी माओवादी केन्द्र हो । राजनीतिक घट्नाक्रम बढ्दै जाँदा, त्यसपछि एउटा परिस्थिति बन्यो कि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरियो । अब यसलाई चुनावपछि व्यापक छलफल र बहस चलाउँछौं । विभिन्न फोरममा यो विषयमा बहस चल्छ ।’

उनले पार्टीका स्वर्गी नेता पोष्टबहादुर बोगटीलाई सरल मिलनसार व्यक्तित्वको धनी भनेर चित्रण गरे । उनले भने,‘पोष्टबहादुर बोगटी, देशकै लोकप्रिय नेताको रुपमा स्थापित हुनुहुन्थ्यो । नेपाली जनताको सर्वोच्च हितको लागि जीवन समर्पित गर्नुभयो । सरल र मिलनसार व्यक्तित्व हुनुहुन्थ्यो । जुन जुन जिम्मेवारी लिनुभयो, सबै पक्षलाई मिलाएर खासगरी समन्वयकारी भूमिकासहित काम गर्नुभयो । विचार राजनीति र मुद्दामा दृढ रहनुभयो । नेपालकै कम्युनिष्ट आन्दोलनको एउटा स्थलको रुपमा नुवाकोटलाई चिनाउने काम हुन्छ । आज उहाँको शालिक अनावरण गर्न आएका छौं ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot