काठमाडौं, ३ चैत्र । आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७३ वटा साना राजनीतिक दलले पनि चुनाव चिन्ह पाउने भएका छन् । निर्वाचन आयोगले राष्ट्रिय दलका रुपमा नरहेका तर २०७४ सालको निर्वाचनमा भाग लिई निश्चित मत हासिल गरेका दललाई पुरानै निर्वाचन चिह्न दिने निर्णय गरेको हो ।
आयोगको बुधबार बसेको बैठकले जिल्लामा सक्रिय रहेको आधारमा साना दललाई उनीहरूकै चुनाव चिन्ह दिनेबारे निर्णय गरेको हो । त्यसको लागि आयोगले साना दलहरूलाई चैत ६ भित्र जिल्लाहरूमा पार्टीका संरचनालगायत विवरण खुल्ने कागजात आयोगमा पेश गर्न निर्देशन दिएको छ ।
आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ७५ अनुसार चुनाव चिह्नका लागि दललाई पत्राचार गर्ने निर्णय पनि गरेको जनाएको छ।
दिइएको मितिमा आयोगमा विवरण नबुझाउने दललाई भने स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने चिन्ह नै प्रयोग गर्न दिइने आयोगले तयारी गरिरहेको छ।