Logo

रेशम चौधरीको दल ‘नागरिक उन्मुक्ति पार्टी’ मा मनिष लामा र सोनाम घिसिङको प्रवेश



काठमाडौं, ६ चैत्र । स्थानीय चुनाव नजिकिदै गर्दा रेशम चौधरीले नेतृत्व गरेको पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’मा विभिन्न दल परित्याग गर्नेहरु देखिएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मनिष लामा, सोनाम घिसिङ लगायत थुप्रैको सख्यामा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नागरिकको नागरिकता सुनिश्चित गर भन्न पनि अब अपराध गरे जस्तो भएको बताइन् । दमनका कारण नै आफ्नो पार्टी नागरिक उन्मुक्तिको उदय भएको समेत बताइन् । उनले भनिन्,‘जहाँ दमन हुन्छ त्यहाँ अवश्यपनि द्धन्द्ध शुरु हुन्छ । नागरिक उन्मुक्ति पार्टीको जन्म नै दमनले भएको हुनसक्छ ।’ उनले हरेक नागरिकको स्वतन्त्रता र उन्मुक्तिको लागि आफ्नो पार्टी स्थापना भएको समेत जानकारी दिइन् ।

ठुला पार्टीहरुलाई लक्षित गर्दै श्रेष्ठले अल्याङबल्याङ गर्नेहरुले देश विकास नगर्ने जिकिर गरिन् । ‘अल्याङबल्याङ गर्नेहरुले न त देश विकास गर्छन्, नत जनतालाई नैर्सगिक अधिकार दिन्छन् ।’–उनले भनिन्, ‘हामी हार्दैनौ र कहिले पनि हार्न जानेका छैनौ ।’
अध्यक्ष श्रेष्ठले अब संसारले आदीवासीको पहिचान खोजेको उल्लेख गर्दै ठुला दलहरुले नेपाली जनतामाथि दमन गर्दनौ भनेपनि देशका जनताले न्याय र समानता नपाएको जिकिर गरिन् । राज्य सञ्चालनमा एकात्मकता राख्दै श्रम गर्नेको पनि इज्जत गर्र्नुपर्नेमा उनले जोड दिइन् । देशका नागरिकहरु पिछडिएर, पिल्सीएर अनागरिक झै बनेर बस्न परेको उनको भनाई थियो । उनले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै धन्यवाद दिएकी थिइन् ।

त्यस्तै, कार्यक्रममा नवप्रवेशी नेताको तर्फबाट मनिष लामाले यो देशको नागरिक बन्नका निम्ति विगतमा १० वर्ष वर्ग संर्घषको नारा लिएर हिडेको बताए । उनले भने,‘१२ बुंदे सम्झौता र १९ दिने जनआन्दोलन हुँदै यहाँसम्म आइपुग्दा पनि युवाहरुको समस्या जहाँको त्यही छ । नेपाली नागरिकको निम्ति वर्ग संघर्षको नारा बोकेर देश परिवर्तनको लागि हिडियो तर उद्देश्य अझै पुरा हुन सकेन् ।’ ठुला पार्टीहरुले वर्ग संघर्षको नाममा युवाहरुको प्रयोग गरेर एउटा प्रजाको रुपमात्रै हेरेको उनले आरोप लगाए ।

अब नागरिक बन्ने कि नबन्ने भन्ने भएर सोच्न पर्ने समय आएको उनको भनाई थियो । उनले भने,‘अब हामीले जति जानेको छौ, उत्पादन, शिपमुलक सांस्कतिक क्रान्ति लगायतमा सबै ज्ञान यही नागरिक उन्मुक्ति पार्टीमा प्रयोग गर्ने अठोटका साथ प्रवेश गरेका छौ ।’ नेताहरुले जहिलेपनि युवाहरुलाई आफ्नै अनुकुलमा मात्र प्रयोग गर्ने गरेको उनले गुनासो पोखे । ठुला दलले केही गर्ने जोश भएका युवाहरुलाई जहिले पनि भुङ्ग्रामा राख्ने गरेको समेत उनले आरोप लगाए । वर्ग संघर्षको सपना दयनिय हुँदै गएको उनको भनाई थियो । उनले भने,‘नागरिकलाई स्वतन्त्र बनाउने सपना पुरा गर्न म यो पार्टीमा प्रवेश गरेको छु ।’

त्यस्तै, नवप्रवेशी सोनाम घिसिङले सधै दलहरुको झण्डा बोकेर उनीहरुको दास मात्र भएर हिडेको भन्दै अब स्वतन्त्रताको लागि पनि लड्न पर्ने समय आएको बताए । ठुला दलहरु कुशासन, कुसंगति र कुलतमा फसेको उनले आरोप लगाए । उनले भने,‘बानेश्वरमा जात्रा, सडकमा जात्रा लाग्दै लाग्दै नेपालमा अमेरिकी एयर फोर्स समेत आयो । यी सबै देशको समस्यालाई मध्यनजर गर्दै एउटा नागरिकले आफ्नोे दायित्व बुझ्न पर्छ ।’

सबै देशका नागरिकहरुले आफ्नो लागि मात्र नभएर सिंगो देशको लागि सोच्न पर्ने दिन आएको उनको भनाई थियो । उनले भने,‘आज चारैतिर वेतिथिले गर्दा हामी नेपाली जनता साह्रै पिल्सेका छौ । अब हामी यो स्थितिबाट माथि उठ्न पर्छ । देशको नागरिक भएर उभिन, अघि बढ्न र आफ्नो हक अधिकारको लागि लड्न पर्छ ।’ कार्यक्रमको सञ्चालन योगेन्द्र घिसिङले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot