Logo

‘एमालेमात्र वामपन्थी दल’ भन्दै ओलीले गरे एकता प्रस्तावको आलोचना



काठमाडौं, ७ चैत्र । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा वामपन्थी एकताको प्रस्ताव छलफलमा प्रवेश गर्यो । घनश्याम भुसालले बैठकको सुरुमा वामपन्थी एकता अनिवार्य भएको तर्क गरे । वामपन्थीहरु फुटको अवस्थामा चुनावमा गए ठूलो धक्का खान सक्ने सुनाए ।

भुसालले विगतका कमी कमजोरी सच्याएर आत्मसमिक्षा गर्ने सम्मको प्रस्ताव राखे । उनको प्रस्तावमाथि बैठकमा बोल्ने अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले आलोचना गर्न थालिसकेका थिए ।

भुसाललाई रघुजी पन्तले पनि साथ दिएका थिए । तर, ओलीले जवाफ दिने क्रममा एमालेबाहेक अन्य दल वामपन्थी नभएको दाबी गरे । बैठकमा सहभागी एक नेताका अनुसार ओलीले प्रचण्ड, माधवकुमार नेपाललगायत वामपन्थी नेताहरुको नामै उल्लेख गरी उनीहरु वामपन्थी नभएको तर्क गरेका थिए । आफ्नै सरकार गिराउने र दक्षिणपन्थी शक्तिलाई प्रधानमन्त्री बनाउन जाने वामपन्थी हुन नजाने उनको भनाई थियो ।

ओलीले चुनावमा विभिन्न पक्षसँग तालमेल हुनसक्ने तर एकता नहुने बताए । उनले एमाले एक्लै शक्तिशाली भएको र चुनावमा एक्लै जित्ने साहसका साथ बढ्नुपर्नेमा जोड दिए । ओलीले घनश्याम भुसालतर्फ समेत व्यङ्ग्य गर्दै अर्को दलको र वामपन्थीबाहेकको शक्तिलाई सरकारको नेतृत्वमा पुर्याउन पछाडिको ढोकाबाट मत दिन जाने वामपन्थी नुहने बताए ।

PHOTO BY : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot