Logo

चिनियाँ विदेशमन्त्री शुक्रबार नेपाल आउँदै, के–के छन् भ्रमणका एजेन्डा?



काठमाडौं, चैत ८ । चीनका विदेशमन्त्री वाङ यी आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वाङको नेतृत्वमा उच्चस्तरीय चिनियाँ टोली शुक्रबार भ्रमणमा आउन लागेको हो ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आउन लागेका वाङ पहिलो उच्चस्तरीय पाहुना हुन् । यसअघि चीनका रक्षामन्त्री वेई फंगेल १४ मंसिर २०७७ मा नेपाल भ्रमण गरेयता वाङ उच्चस्तरीय पाहुना हुन् । ११ चैतदेखि १३ चैतसम्म तीनदिने भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ थाओसहित सात जनाको टोली आउने तयारी भएको जनाइएको छ ।

नेपाल भ्रमणका क्रममा सीमापार रेललगायतका समझदारीपत्रमा हस्ताक्षरको तयारी भइरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । एक वर्षअघि चिनियाँ रक्षामन्त्री वेई तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा आइपुगेका थिए भने एमसिसी पारित भएको अवस्थामा वाङ आइपुग्दै छन् ।

नेपालमा अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएपछि चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपाल भ्रमणमा आउन लागेका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङले नेपाली समकक्षी डा नारायण खड्कासँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् भने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट हुनेछ ।

वाङसँग एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गर्ने तय भएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot