Logo

‘हामी अहिले ऋणको भार बोक्न सक्ने अवस्थामा छैनौं’ : पूर्वराजदूत उपाध्याय (भिडिओसहित)



काठमाडौं, ११ चैत । पूर्व राजदूत दीपकुमार उपाध्यायले चीनले नाकाबन्दी नभन्दा नभन्दै पनि नेपाली व्यवसायीले दुःख पाएको टिप्पणी गरेका छन् । केरुङमा महिनौं कन्टेन्टर अड्केपछि कोलकता भएर ल्याउनुपरेको उनले दृष्टान्त सुनाए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यायले यस्तो बताएका हुन् । उनले भने,‘कूटनीतिमा एक हातले ताली बज्दैन । बोक्नै नसक्ने कुरा भन्यौं भने गाह्रो पर्छ । हामी बीआरआईमा जाने हो । तर कति अनुदान, कति ऋण र कति सहुलियत लिने हो । बीआरआईको विषयमा हाम्रो चाहना प्रस्ट भन्नुपर्छ । हतारिएर काम गर्ने, पछि गालीगलौज गर्ने गर्नु भएन ।’

उनले नेपाल अहिले ऋणको भार बोक्नसक्ने अवस्थामा नभएको पनि स्पष्ट पारे । उनले अघि भने,‘हामी अहिले ऋणको भार बोक्न सक्ने अवस्थामा छैनौं । तर हामीलाई पूर्वाधार पनि चाहिएको छ । कनेक्टिभिटी पनि चाहिएको छ । पहिले पहिले हाम्रो पहुँच नै थिएन उत्तरी सीमामा ।’

उनले सीमा विवादबारे प्राविधिक रुपमा छलफल नै नभएको पनि गुनासो पोखे । उनले भने,‘जिल्लाका सीडीओ र स्थानीय सरकारले भनेका कुरामा सरकारको समयमै ध्यान जानुपर्छ । त्यसले हाम्रो मित्रतामा अनावश्यक गिजोल्ने अवस्था नआओस् ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भाग्य पनि बलियो रहेको उल्लेख गरे । उपाध्यायले भने,‘शेरबहादुरजीको भाग्य बलियो छ । कति छिटो छिटो एमसीसी पास भयो, चिनियाँ विदेशमन्त्री आए, भारत भ्रमण हुँदैछ । अमेरिकी प्रतिनिधिमण्डल पनि आउँदै छ ।’

भारतसँग पानी, सीमा, व्यापार घाटा आदिका समस्या रहेको उनको भनाई छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा प्रधानमन्त्री देउवाले यी विषय उठाउनुपर्नेमा उनले जोड दिए । उनले भने,‘राजनीतिक नेतृत्वले सकारात्मक इच्छाशक्ति देखाउनुपर्यो । परराष्ट्र सम्बन्ध छिनको छिनमा बदलिँदैन । नेपालको समृद्धिमा भारतको समृद्धि पनि जोडियोस् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot